लोकप्रिय फोन कलिङ्ग र मेसेजिङ एप ह्वाट्स एपले केही महिना पहिले डिलिट फर एभ्रिवन फिचर लञ्च गरेको थियो ।
यस फिचरको माध्यमबाट ह्वाट्सएप प्रयोगकर्ताले भुलवश कसैलाई पठाएका मेसेजहरु ७ मिनेटभित्र डिलिट गर्न पाउँथे ।
तर हालै कम्पनीले यस्ता मेसेज डिलिट गर्न मिल्ने समयलाई ७ मिनेटबाट बढाएर एक घण्टा भन्दा बढी पुर्याएको छ ।
अब ह्वाट्स एपमा पठाएका मेसेज ४ हजार ९६ सेकेण्ड अर्थात् एक घण्टा, ८ मिनेट १६ सेकेण्ड भित्रमा डिलिट गर्न सकिन्छ । यस नयाँ टाइम भर्सन सबै भन्दा पहिले बेटा भर्सनमा देखिएको थियो र यसलाई आइओएस भर्सनमा ल्याइने अपेक्षा पनि गरिएको थियो ।
पछिल्लोपटक ह्वाट्सएपले आइओएसका लागि पनि नयाँ अपडेट उपलब्ध गराएको र डिलिट फर एभि्रवन फिचरका लागि टाइम लिमिट १ घण्टा ८ मिनेट १६ सेकेण्डसम्म बढाइएको ह्वाट्सएप बेटा इन्फोले जनाएको छ ।
ह्वाट्सएपको यो फिचर ग्रुप तथा व्यक्तिगत दुबै च्याटमा लागू हुने बताइएको छ ।
कसरी गर्ने डिलिट ?
कुनै पनि मेसेज डिलिट गर्नका लागि प्रयोगकर्ताले उक्त मेसेज सेलेक्ट गर्नुपर्दछ । त्यसपछि च्याट विन्डोमा ट्यापबारमा स्टार, रिप्लाई, कपी, फरवार्ड, इन्फर्मेसन तथा डिलिट जस्ता अप्सन देखिनेछन् ।
तपाईंले डिलिट फर एभि्रवन वा डिलिट फर योरसेल्फको विकल्प मध्ये कुनै एक छान्न सक्नु हुन्छ । एक पटक मेसेज डिलिट गरिसकेपछि प्रापकले This Message was deleted भन्ने देख्नेछ भने प्रेषक प्रयोगकर्ताले You Deleted this Message लेखेको देखिने छ ।
ह्वाट्सएपले डिलिट फर एभ्रिवन फिचरको गलत प्रयोग रोक्न Block Revoke Request नामक फिचर पनि जारी गरेको छ ।
– एजेन्सीको सहयोगमा