टोकियोमा ‘म नेपाली ग्रुप’ को दुई दिने तीज महोत्सव हुँदै

Teej Mahotsab_2016_shareजापान । जापानमा रहेका नेपाली महिलाहरुको समूहह ‘म नेपाली ग्रुप’ जापानले हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दुई दिने तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यसअघि सेप्टेम्बर ४ तारिखमा कार्यक्रम आयोजना गर्ने भनिएपनि अन्य संस्थाहरुले सोहि दिन गर्न लागेकोले समय परिवर्तन गरी अगष्ट २८ र ३० तारिख दुई दिन कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक कमला काप्रीले जानकारी दिइन् ।

२८ तारिख तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा र ३० तारिख मेगुरो कुमिन सेन्टरमा कार्यक्रम आयोजना गरिन लागेको हो । साइतामा, चिबा, खानागावा र टोकियोलाई लक्षित गरी तीजको अवसरमा म नेपाली ग्रुप, जापानले दुई दिवसीय तीज महोत्सव २०१६ आयोजना गर्न लागेको हो ।

तीज विशेष कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न चौतारी रेस्टुरेन्ट शिनओकुबोमा बसेको म नेपाली ग्रुप जापानको बैठकले विगतमा भएका कमजोरीहरुलाई सुधार गर्दै तीज महोत्सव २०१६ लाई भव्य र सभ्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यक्रम सम्पन्न गर्नका लगि विभिन्न उपसमितिहरु समेत गठन गरेको कार्यक्रम संयोजक काप्रीले बताइन् ।

सो बैठकले साँस्कृतिक संयोजकमा मिना केसी, कार्यक्रम व्यवस्थापनमा नान्सु पाण्डे र प्रतिक्षा प्रधान, आर्थिक समितिमा अन्जु हमाल, सनम थापा र प्रनीता सुवेदीलाई चयन गरेको छ ।

त्यस्तै सो बैठकले मिडिया संयोजन समितिमा सरला लम्साल र अम्बु कान्छी, अतिथि सत्कारमा जोया खड्का र दिपा कार्की, प्रचारप्रसारमा सिर्जना मल्ल, दिपा सेढाई, जमुना अधिकारी, अनिता अधिकारी, शान्ति मगर, रितु चापागाई र सुनिता महर्जन, कलाकार व्यवस्थापन उपसमितिमा सुमी केसी, शान्ति सिग्देल, रमा अधिकारीलाई जिम्मा दिएको छ ।

हामीले नगरे कसले गर्ने अभियानको विशेष सहयोग रहने तीज महोत्सव २०१६ को म्युजिक संयोजकमा जोन छन्त्याल र यातायात संयोजकमा ओसामु कोवायासी रहेका छन् ।

४ जना चर्चित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु छनौट भई सकेको साथै प्राविधिक तयारी अन्तिम चरणमा पुगेको म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले बताईन ।

म नेपाली ग्रुप जापानले बिगतमा पनि उल्लेखनीय काम गर्दै आएको र भविष्यमा पनि सबैसँग हातेमालो र सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको जनाएको छ । यस वर्षको तीज महोत्सव २०१६ द्वारा हुने मुनाफा रक्षा नेपाललाई सहयोग गर्ने आयोजकले जनाएको छ ।

नेपाल र नेपालीको परम्परा र संस्कृतिको जगेर्नाका लागि आयोजना गर्न लागिएको तीज महोत्सव २०१६ का दिन अन्य कार्यक्रमको आयोजना नगरिदिन ग्रुपले जापानमा रहेका सम्पूर्ण नेपाली संघसंस्थालाई आग्रह गर्दै सो दिन जापानमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई तीज महोत्सवमा सहभागी भएर हौसला प्रदान गरिदिन हुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?