जापान । अप्रिल महिनामा जापानको क्यूसु द्विपको कुमामोतो क्षेत्रमा गएको विनाशकारी भूकम्पबाट प्रभावित नेपालीहरुको अवस्था बुझ्न जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राज भण्डारीको नेतृत्वमा गैर आवासीय नेपाली संस्था जापानका प्रतिनिधिहरुले कुमामोतो क्षेत्रको भ्रमण गरेको छ ।
कुमामोतो क्षेत्रमा बसोबास गरिरहेका २२० भन्दा बढी नेपालीहरुको अवस्था सामान्य रहेको भण्डारीले बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रको भ्रमणको क्रममा कार्यवाहक राजदुत भण्डारीले कुमामोतोका गवर्नर इकु कावासिमा र कुमामोतो शहरका मेयरकाजुफुमी ओनिसी लगायत अधिकारीहरु संग भेटघाटगरी भूकम्प बाट भएको जनधनको क्षतिप्रति दुख र समवेदना व्यक्त गरेका थिए ।
सो भेटको अवसरमा गैर आवासीय नेपाली संस्था जापानका अध्यक्ष सुदन थापा तथा सो संस्थाका सल्लहाकार जिज्ञान कुमार थापाको समेत उपस्थिति रहेको थियो ।
जापानको कठिनाईमा नेपाल सरकार र नेपालीहरु संधै सहयोग गर्न तयार रहेको भन्दै जापानी अधिकारीहरुलाई आश्वासन दिएकाछन् ।
टोलीको भ्रमणको अवधिमा गैर आवासीय नेपाली संस्था जापानका अध्यक्ष सुदन थापा, सचिव बुद्दिराज घिमिरे, सदस्य प्रल्हादसिंह महत र नेपाली युवा सरोज कुमार खत्री तथा केशव थापा सम्मिलित एक टोलीले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवकको भूमिकामा स्थानीय जनताहरुलाई सहयोग गरेका थिए।
फुकुओकामा नेपाली कार्यवाहक राजदुतको भ्रमण
कुमोमोतो भ्रमण गरे लगत्तै कार्यवाहक राजदूत भण्डारीले पाँचहजार नेपालीहरुको बसोबास रहेको फुकुओका क्षेत्रको पनि भ्रमण गरेका थिए ।
भूकम्प पछिको जीवनयापन र अवस्थाका बारेमा राजदुतले सो क्षेत्रका लागि नेपालका वर्तमान अवैतनिक वाणिज्यदूत केन्जी सुगामी, पूर्व अवैतनिक वाणिज्यदूत मिसुहिको सिनोकुमा लगायत जापानीहरुलाई भेटेका थिए ।
सो भेटघाटका अवसरमा सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका समस्या समाधान र नेपाल-जापान सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल गरिएको जनाईएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा योगाभ्यास
जापानको भूकम्प प्रभावित कुमामोतो क्षेत्रका विस्थापित भइ अस्थायी सेल्टरहरुमा आश्रय लिईराखेका जापानीहरुको लागि निरज ज्ञवालीले योगाभ्यास संचालन गरेका थिए ।
योगाभ्यास कार्यक्रमा पछि आश्रय स्थलका भूकम्प पिडित जापानीहरुले योग गरेर आफुहरुलाई शारिरिक तथा मानसिक स्फूर्ति बढेको र योगाभ्यास फलदायी भएको बताएका थिए ।
साथै, फुकुओकामा रहँदा उहाँले त्यहाँ रहेका सरोकारवाला नेपालीहरु संग उनीहरुका समस्या र त्यसको समाधानको निम्ति अपनाउनु पर्ने सम्भावित उपायहरुको अन्तरक्रिया गरेका थिए ।