जापानले ४८ वर्षपछि भिसा शुल्क बढाउने, अब कति लाग्छ ?

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्ष २०२६ को अप्रिलबाट विदेशी नागरिकका लागि जारी हुने भिसा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ ।

जापानले करिब ४८ वर्षपछि पहिलो पटक भिसा शुल्क वृद्धि गर्न लागेको हो ।

पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार हाल जापानको एकल प्रवेश अर्थात् सिंगल इन्ट्री भिसाको शुल्क करिब ३ हजार येन र बहु प्रवेश अर्थात् मल्टिपल इन्ट्री भिसाको शुल्क करिब ६ हजार येन रहेको छ । नयाँ शुल्क दर भने अझै अन्तिम रूपमा सार्वजनिक गरिएको छैन ।

जापानी अधिकारीहरूले पछिल्ला वर्षहरूमा पर्यटन आगमन तीव्र रूपमा बढ्दै गएको र प्रशासनिक खर्च पनि बढेका कारण भिसा शुल्क वृद्धि गर्नुपरेको जनाएको छ ।

साथै, जापानको भिसा शुल्क अन्य विकसित मुलुकहरूको तुलनामा निकै कम रहेको कारणले पनि शुल्क समायोजन आवश्यक भएको अधिकारीहरुको दाबी छ ।

जापान सरकारले यसअघि सन् १९७० को दशकमा हालको भिसा शुल्क निर्धारण गरेको थियो । त्यसपछि करिब पाँच दशकसम्म शुल्क परिवर्तन नहुँदा मुद्रास्फीति र व्यवस्थापन लागतबीच ठूलो अन्तर देखिएको बताइएको छ ।

जापानले अबको दर अमेरिकी र युरोपेली मुलुकका भिसा शुल्कसँग मिलाउने तयारी गरेको छ । नयाँ शुल्क लागू गर्ने प्रक्रिया आगामी वर्षभर अध्ययन र अन्तर्राष्ट्रिय परामर्शपछि मात्रै सुरु हुनेछ ।

भिसा शुल्कमा हुन लागेको वृद्धि सबै मुलुकका लागि एकसाथ लागू हुन्छ वा केही निश्चित देशका लागि मात्रै लागू हुने भन्ने खुलाइएको छैन । तर, जापानको विदेश मन्त्रालयले भिसा व्यवस्थापनलाई पारदर्शी र समान बनाउने उद्देश्य रहेको जनाएको छ ।

नयाँ दर लागू भएपछि भारतीय, नेपाली तथा अन्य एशियाली नागरिकका लागि पनि सोही अनुसार संशोधन हुने अनुमान गरिएको छ ।

कोरोना महामारीपछि जापानमा पर्यटक आगमन तीव्र गतिमा बढेको छ । सन् २०२४ मा मात्र जापानमा ३३ मिलियनभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?