
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल जापानको प्राविधिक लगानीको वातावरण बनाउन तयार रहेको बताएका छन् ।
काठमाडौंमा आयोजना गरिएको जापान–नेपाल आईटी फोरम–२०२५ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल र जापानको प्राविधिक साझेदारीमा जोड दिएका हुन् ।
उनले जापान–नेपाल आईटी करिडोरको जगको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै यसबाट नवप्रवर्तन, लगानी, पूर्वाधार र प्रेरणाको गतिशील पुल बन्ने विश्वास व्यक्त गरे ।
मन्त्री गुरुङले नेपाल र जापानबीचको प्राविधिक साझेदारीलाई सहज बनाउने समेत बताएका छन् ।
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत डिजिटल र आईसीटी क्षेत्रमा पारस्परिक वृद्धिलाई प्रवद्र्धन गर्न जापान सरकारसँग रणनीतिक सहकार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेको समेत बताएका छन् ।
क्षेत्रीय र विश्वव्यापी आवश्यकता पूरा गर्न हरित डेटा पूर्वाधार निर्माण गर्न जापानी लगानी आवश्यक भएको उनको भनाई थियो ।
उनले नेपाल सरकार–जापान सरकार (जीटुजी) ढाँचा अन्तर्गत आफ्नै उपग्रह प्रक्षेपण गर्न जापानको प्राविधिक सहयोगमा समेत जोड दिएका छन् । यसबाट ग्रामीण सम्पर्क, मौसम पूर्वानुमान, विपद् तयारी र दूर शिक्षालाई सुदृढ बनाउने उनको विश्वास छ ।







