टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इशिबाबीच महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार जापानबाट अमेरिका निर्यात हुने सवारीसाधन तथा अन्य सामग्रीहरूमा लाग्ने भन्सार महसुलमा कटौती गरिनेछ।
रोयटर्सका अनुसार, हाल जापानबाट अमेरिका पठाइने गाडीमा २७.५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा अब त्यो घटाएर १५ प्रतिशतमा झारिने सहमति भएको हो। यही दर आगामी अगस्ट १ देखि लागू गरिने बताइएको छ।
यसैगरी, अन्य सामग्रीहरूको भन्सार दर पनि २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिने व्यवस्था गरिएको छ।
भन्सार दर घटाउने घोषणासँगै जापानको शेयरबजारमा सकारात्मक प्रभाव देखिएको छ। निक्केई सुचकांक विगत एक वर्षको उच्चतम विन्दुमा पुगेको छ। जापानी अटो कम्पनीहरू विशेष लाभमा देखिएका छन् — टोयोटाको सेयर १४ प्रतिशतले, र होन्डाको सेयर ११ प्रतिशतले उक्लिएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेखेका छन्, “मैले जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता गरेको छु। यो अमेरिकाका लागि निकै उत्साहजनक क्षण हो।”
प्रधानमन्त्री शिगेरु इशिबाले पनि सम्झौतालाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन्। उनले भने, “यो सम्झौता अमेरिकासँग व्यापार लाभ गर्ने मुलुकहरूमध्ये सबैभन्दा न्यून भन्सार दरमा आधारित छ।”
हाल जापानमा महँगी बढ्दै गएको विषयलाई लिएर भइरहेको जनआक्रोशका बीच उनको राजीनामाको चर्चा चलेको थियो, जुन उनले खण्डन गरेका छन्।
सन् २०२४ मा जापान–अमेरिका बीचको व्यापार २३० अर्ब अमेरिकी डलर पुगेको थियो। नयाँ सम्झौताअनुसार, जापानले ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी र ऋण प्याकेजमार्फत औषधि र सेमिकन्डक्टर उत्पादनमा योगदान पुर्याउनेछ।
त्यसका अतिरिक्त, जापानले अमेरिकी चामलसहित केही कृषिजन्य उत्पादनहरूको आयात पनि बढाउने प्रतिबद्धता जनाएको छ।





