टोकियो — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयनका लागि अधिवेशन यही जुलाई २० तारिख आइतबार हुने भएको छ। अधिवेशन नजिकिँदै जाँदा नेतृत्वमा पुग्न चाहनेहरू सक्रिय देखिएका छन्।
संघका प्रवक्ता खगराज गौतमका अनुसार अधिवेशनपछि नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाउन वरिष्ठ पत्रकार तिलक मल्लको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्यका रूपमा रहेका छन्। निर्वाचन कार्य जुलाई २७ तारिख सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिइएको छ।
त्यसअघि, आगामी जून २९ तारिख आइतबार, एनआरएनए जापानका १२ वटै क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय भएको महासचिव टिकाराम खरेलले बताए।
ती अधिवेशनपछि केन्द्रीय अधिवेशनका लागि आवश्यक तयारीहरू सुरु हुनेछन्। अध्यक्ष पदमा दाबी गर्ने नेताहरूबीच प्रतिस्पर्धा चर्किएको छ।
हालका उपाध्यक्षहरू सचिन श्रेष्ठ, सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठ आ–आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा लागेका छन्। अघिल्लो निर्वाचनमा उपाध्यक्ष पदमा विजयी भएका उनीहरू यसपटक अध्यक्षको दौडमा रहन सक्ने सम्भावना बलियो देखिन्छ। उनीहरू क्रमशः म्याग्दी, पर्वत र बागलुङका प्रतिनिधित्व गर्ने व्यक्तित्व हुन्।
महासचिव पदको सन्दर्भमा हाल प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका खगराज गौतम र अघिल्लो पटक पराजित उम्मेदवार श्याम शितलको नाम चर्चामा छ। दुवैको प्रभाव क्षेत्र नागोया हो।
यता, एनआरएनएको केन्द्रमा देखिएको मतभेद र ध्रुवीकरणको असर जापान शाखाको निर्वाचनमा समेत पर्न सक्ने संकेत देखिएको छ। केन्द्रमा बद्रि केसी र महेशकुमार श्रेष्ठबीच देखिएको प्रतिस्पर्धाले जापानमा पनि पक्षगत आधारमा उम्मेदवारी घोषणा र मत विभाजन हुने आँकलन गरिएको छ।
