टोकियो, जापान – जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले हालै सरकारी संचित चामल (備蓄米) को बिक्री प्रक्रिया सुरु गरेको छ। 備蓄米 भनेको आपतकालीन अवस्था वा प्राकृतिक विपद्को समयलाई ध्यानमा राखी सरकारले पूर्वतयारी स्वरूप भण्डारण गरेर राखेको चामल हो। अहिले उक्त चामल लाभ नलिई सर्वसाधारणलाई ५ किलोको दरमा २ हजार येनमा बिक्री गरिनेछ। यस कार्यमा जापानका प्रमुख वितरण तथा संकलन कम्पनीहरू पनि सहभागी भएका छन्।
बिक्री प्रक्रिया र मूल्य निर्धारण
JA全農 (जापान कृषि सहकारी संघ) लगायतका प्रमुख संकलनकर्ताहरूले चामललाई न्यूनतम प्रशोधन खर्च थपेर बिक्री गरिरहेका छन्। उदाहरणस्वरूप, ६० किलो चामल २१ हजार ३ सय ५२ येनमा खरिद गरेर २२ हजार ४ सय २ येनमा थोक विक्रेतालाई बिक्री गरिएको छ, जसमा केवल १ हजार ५० येन मात्र मुनापफा राखिएकाे छ। यसरी बिक्री गर्दा कम्पनीहरूले कुनै लाभ लिएका छैनन्।
खुद्रा बजारमा कम आपूर्ति
हाल खुद्रा बजारमा जम्मा 1.4% मात्र संचित चामल पुगेको छ। यसको मुख्य कारण चामल प्रशोधनमा लाग्ने समय र वितरणका लागि ट्रक अभाव हो। त्यसैले उपभोक्ताहरूले अझै पनि केही महँगो मूल्यमा चामल किन्नुपरेको अवस्था छ।
लेबलिङ र पारदर्शितामा चिन्ता
चामलको मूल्य स्थिर राख्न र बजारमा अनावश्यक भ्रम नहोस् भन्ने उद्देश्यले केही विक्रेताहरूले चामलमा “備蓄米” भनेर स्पष्ट रूपमा उल्लेख नगरी बिक्री गरिरहेका छन्। यद्यपि, यसले पारदर्शितामा असर पार्न सक्छ र उपभोक्ताको विश्वासमा पनि असर पर्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्।
आगामी योजना
सरकारले आगामी महिनाहरूमा थप संचित चामल बजारमा ल्याउने योजना बनाइरहेको छ। यसले बजारमा चामलको मूल्यलाई नियन्त्रणमा राख्न सहयोग गर्ने र उपभोक्ताहरूलाई सहज मूल्यमा चामल उपलब्ध गराउने अपेक्षा गरिएको छ।
