टोकियो, जापान। जापानको टोकियोस्थित एसियन ब्रिज इन्टरनेशनल स्कूलको औपचारिक उद्घाटन भएको छ। मार्च ३१ तारिख टोकियोको ओजिमा एक भव्य समारोहका साथ उद्घाटन गरिएको हो।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, जापानका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य हिरोशी हिरागुची, विश्वविद्यालयका प्राध्यापक, एनआरएनए, पत्रकार महासंघका अध्यक्ष लगायतले रिबन काटेर उद्घाटन गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले विद्यालय परिवारलाई नेपाली राजदूतावास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको शुभकामना दिनुभयो। उहाँले विदेशी भूमिमा नेपाली पाठ्यक्रममा अध्यापन गराइने विद्यालय सञ्चालन हुनु सकारात्मक पक्ष रहेको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो। एसियन ब्रिज इन्टरनेशनल स्कूलले जापानको नेपाली समाजलाई शिक्षा, संस्कृति, र सभ्यताको पहिचान गराउने कुरामा अग्रसर हुन आग्रह गर्नुभयो। राजदूत सुवेदीले विद्यालय सञ्चालनका लागि आवश्यक नीतिगत सहयोग राजदूतावास र नेपाल सरकारले पूर्ण रूपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै जापानका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य हिरोशी हिरागुचीले नेपालको शिक्षा र संस्कृतिको विकासका लागि आफूले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले नेपालको महान् पर्व दशैं हिरोसिमामा रहेका नेपालीसँग मनाएको स्मरण गर्दै शिक्षामा पनि नेपालीहरू अगाडि रहेको जानकारी दिनुभयो।
विद्यालय सञ्चालन समितिका अध्यक्ष डा. बलराम श्रेष्ठले शिक्षा लिएको व्यक्तिले जहाँ गएर पनि दुःख नपाउने बताउनुभयो। उहाँले जापानमा नेपालीहरूको संख्या बढ्दै गएको र पठाउने विद्यालय नपाएको गुनासोलाई सम्बोधन गर्दै विद्यालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। जापानमा करिब २ लाख ४० हजार नेपाली रहेको र वर्षमा १२ सय बालबालिका जन्मने गरेको हुँदा तिनलाई नेपाली पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउने विद्यालय कम भएको कारण एसियन ब्रिज इन्टरनेशनल स्कूल सञ्चालन गरिएको बताउनुभयो। अध्यक्ष श्रेष्ठले अहिले कक्षा ४ सम्म सञ्चालन हुने विद्यालय निकट भविष्यमा विश्वविद्यालयसम्म विस्तार गर्ने योजना रहेको बताउँदै, यहाँ अध्ययन गरेका विद्यार्थी प्रमाणपत्रसँगै सीप र क्षमता लिएर निस्कने उल्लेख गर्नुभयो। त्यस्ता विद्यार्थी विश्वको जुनसुकै देशमा गए पनि टिक्न सक्ने भन्दै अभिभावकहरूलाई ढुक्क भएर विद्यालय पठाउन आग्रह गर्नुभयो।
विद्यालयका शैक्षिक निर्देशक दुर्गा पौड्यालले कलिला बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हिजोसम्म बोलेका कुरा अब साँच्चिकै कार्यान्वयनको चरणमा आइपुगेका छौं र बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छौं।”
समारोहमा टोकियो सिटी विश्वविद्यालयका डिन तथा अनुसन्धान प्राध्यापक होम बहादुर रिजाल, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे, पर्यटन दूत रामहरी पुडासैनी, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एनबीए जापानका संरक्षक विनोद शेरचन, जापानको प्रतिनिधि सभाका सदस्य विशेष केनिची, इबाराकी विश्वविद्यालयका प्राध्यापक मेरिटस मित्सुहिरो नाकागावा, नेपालका लागि पूर्व राजदूत योसियोका हिरोमित्सु, एसिया एक्योइकु ग्रुपका अध्यक्ष यानो यासुशी लगायतले विद्यालयलाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो। सोही अवसरमा यामानासी एईवा विश्वविद्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइयो।
त्यस्तै गरी अभिभावक महेन्द्र पिसीले एसियन ब्रिजमा आफ्ना बच्चाहरूको उज्ज्वल भविष्य देखेको र विद्यालयले आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोजगारीका लागि जापान आएको र छोराछोरीलाई नेपालको शिक्षा, संस्कार, र संस्कृति एउटै विद्यालयबाट लिन पाउँदा हर्षित भएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेश लोहनीले स्वागत गर्नुभएको उद्घाटन समारोहमा विद्यार्थीहरूले नेपालको राष्ट्रियता झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए। विद्यालयको पठनपाठनलाई अझ प्रभावकारी बनाउन शिक्षिकाहरूले सन्देशमूलक नाटक प्रस्तुत गर्नुभयो।
उद्घाटन समारोह जापानी, अंग्रेजी, र नेपाली भाषामा सञ्चालन गरिएको थियो, जसको संयोजन कमल बास्तोला, सृष्टि शेरचन, र लक्ष्मी पौडेलले गर्नुभएको थियो। औपचारिक समारोह समाप्त भएपछि लोकप्रिय कलाकार रामकृष्ण बम मल्ल र रीतु थापा मगरको साथमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जसको संयोजन निरोज पाण्डेले गर्नुभएको थियो। नेपालीसँगै जापानी अतिथिहरू पनि नृत्यमा रमाएका थिए।
टोकियोको किता-कु खामीनाकाजातो स्टेशन नजिक रहेको एसियन ब्रिज इन्टरनेशनल स्कूलले प्रारम्भिक चरणमा प्रि-प्राइमरीदेखि कक्षा ४ सम्म सञ्चालन गर्ने र प्रत्येक वर्ष कक्षा थप्दै विश्वविद्यालय तहसम्म विस्तार गर्ने योजना रहेको छ। यही अप्रिल ७ तारिखबाट पठनपाठन सुरु गर्ने विद्यालयमा १०० भन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन्।
विद्यालयमा जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आबद्ध रहनुभएका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार, र मनिराज सिलवाल सदस्य रहनुभएको छ भने, शैक्षिक निर्देशकको रूपमा दुर्गा पौड्यालले जिम्मेवारी सम्हाल्नुभएको छ।
नेपाली समुदायको १० करोडको लगानीमा सञ्चालनमा आएको उक्त विद्यालयमा ७० जना सेयर होल्डरहरूको संयुक्त लगानी रहेको बताइएको छ।