जीवन सुवेदी / टोकियो ।
प्रवासी भूमिमा रहेर नेपाली साहित्यको क्षेत्रमा शसक्त कलम चलाउनु चानचुने काम होइन । आफूलाई कामको व्यस्तताबाट समय निकालेर कोरेका कवितालाई पुस्तक मार्फत नै सार्वजनिक गर्नु झनै कठिन कार्य हो ।
आफू विदेशी भूमिमै भएपनि नेपालको माटोलाई विर्षन नसकिएका भावनाहरु अभिव्यक्त गर्दै कविताहरुको सार्वजनिक गरेका कवि रविन शर्माको पहिलो कृति देउता बनाउने कारखाना को आईतबार जापानको टोकियोमा पनि लोकार्पण गरिएको छ ।
जन्मभूमि पर्वतको चुवामा पहिलोपटक लोकापर्ण गरिएको उक्त कृतिलाई कर्मभूमि लोकापर्ण कार्यक्रम आयोजना गरि सर्वजनिक गरिएको हो ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कृतिको लोकापर्ण गर्दै शर्माले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्नुभयो ।
शर्माका हरेक कवितामा मातृभूमि झल्केको बताउँदै राजदूत डा. सुवेदीले यस कृति सार्वजनिक भएसंगै जापानमा रहेका नेपालीको मात्र नभई विश्वभरका नेपालीहरुको शीर उचो बनाउने काम गरेको धारणा व्यक्त गर्नुभयो ।
‘रविन शर्मा आफैमा एक महाकाब्य हो जस्तो मलाई लागिरहेको छ’ डा सुवेदीले भन्नुभयो ‘जापानको नेपाली साहित्यिक क्षितिजमा रविन शर्माको उदय नेपाली साहित्यको एउटा उचाई हो’ ।
डा सुवेदीले शर्माको कृतिले नेपाली भाषा र संस्कृतिको धरोहरलाई माथि उकास्ने काम गर्ने बताउनुभयो ।
उहाँले पहिलो पटक यति ठूलो संख्यामा नेपाली समुदाय साहित्यिक कार्यक्रममा देखेको बताउँदै, यो केवल एक कृति विमोचन नभई नेपाली भाषा, साहित्य, र संस्कृतिको अन्तर्राष्ट्रिय गौरवको प्रतिक भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। पूर्व सांसद सूर्य पाठक, वरिष्ठ पत्रकार राजु सुवेदी, साहित्यकार, समाजसेवी, तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरू यस ऐतिहासिक क्षणका साक्षी बने।
उनीहरूले कवि रबिन शर्माको सिर्जनात्मक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्दै, उहाँलाई नेपाली साहित्यको उज्ज्वल नक्षत्रका रूपमा चित्रण गरे।
उक्त संग्रहमा कुन ३९ वटा फुटकर कबिता संग्रहीत छन् । सो अवसरमा कवि शर्माले एकल कविता वाचन समेत गर्नुभएको थियो । उहाँ अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सचिव र अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानका निवर्तमान अध्यक्ष समेत हुनुहन्छ । अनेसास जापानले आफ्नो नियमित साहित्य श्रृङ्खलाको ७२औँ श्रृङ्खलाको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो ।
