टोकियो ।
मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्स सिजन २ को अडिसन यस पटक जापानमा पनि हुने भएको छ ।
जापानको राजधानी टोकियोमा हुने अडिसनबारे आईतबार टोकियोमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जापानको अडिसन संयोजक मध्येका एक सुर्य खड्काले जानकारी दिए ।
२०२५ फेब्रुअरी १५ र १६ तारिखमा टोकियोको शिन-ओकुबोमा रहेको सोलमारी मुरा हलमा अडिसन हुने खड्काले बताए । उनले जापानभर छरिएर रहेका गायन तथा नृत्यका प्रतिभावान व्यक्तिहरु सहभागी भएर आफ्नो कला प्रस्तुत गर्न आग्रह गरे ।
आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, प्रेस चौतारी नेपालका केन्द्रिय उप महासचिव राजु सुवेदी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी लगायतले अडिसन सफलताको कामना गरे ।

नेपालमा १६ वर्ष भन्दा माथिका सहभागी हुन पाउने भनिएको उक्त अडिसनमा जापानमा भने १८ वर्ष पूरा भएको हुनुपर्ने आयोजकले जनाएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्नेछ।
जापानको अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा गएर स्टुडियो अडिसनमा सहभागी हुने मौका पाउनेछन्।सेलेक्ट हुनेहरुका लागि नेपाल जाने प्लेन टिकट समेत आयोजकले नै व्यवस्था गर्ने सो अवसरमा बताईयो ।
यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन्। आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएका छन्।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
‘डान्स युनिभर्स’ को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले १० लाख रूपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

