निगातामा एक किशोरले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जना घाइते

जापानको निगाता प्रिफेक्चरको नागाओकामा १८ वर्षीय एक किशोरले अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा ३ जना घाइते भएका छन् ।

नागाओको एक सपिङ मलमा एक ती १८ वर्षीय हाइस्कूले छात्रले ३ जनामाथि चक्कु प्रहार गरेको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

निगाता प्रीफेक्चरल प्रहरीले ३ जनाको टाउको तथा शरीरमा चोटपटक लागेको जनाएको छ । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न किशोरलाई प्रहरीले रंगेहात पक्राउ गरी चक्कु प्रहार गरेको घटनाको अनुसन्धान गरिरहेको छ ।

नागाओका सहरको रिभरसाइड सेन्स्यु नामक व्यापारिक केन्द्रमा ४० वर्षीया एक र ६० वर्षकी एकजना महिला ग्राहकको घाँटीमा चक्कु प्रहार गरिएको थियो ।

सो घटनापछि चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणको प्रयास गर्दा अर्का ४० वर्षीय पुरुष कर्मचारीलाई पनि ढाडमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहार गर्ने किशोरको परिचय खुलाइएको छैन । तर प्रहरीसँगको बयानमा उनले आफूले गरेको अपराध स्वीकार गरेको बताइएको छ ।

यद्यपी, कुनै सम्बन्ध नै नभएका र कहिल्यै नभेटेका ती महिलाहरु माथि ति किशोरले किन चक्कु प्रहार गरे भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?