सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलमा आज सुनुवाइ हुने भएको छ ।

गतसाता न्यायाधीश अभावका कारण सुनुवाइ स्थगित भएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको बताइएको छ ।

मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला–२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भन्दै प्रमाणका रुपमा केही कागजात पेस गरेका थिए ।

त्यसपछि अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कलप्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।

तर यसबीचमा अदालतमा फरक–फरक जन्ममिति भएका कागजहरु आइपुगेका थिए । वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्मदर्ता गर्दाको जन्ममिति १८ असार २०६१ भएको विवरण पठाएको थियो ।

तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्मदर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो ।

सन्दीपले बयानका क्रममा पीडितको जन्मदर्ता भनी पेस गरेको कागजात एक शुभचिन्तकले दिएको र आफूले उनलाई नचिन्ने बताएका थिए ।

न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोगपत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्ममिति १८ जेठ २०६२ उल्लेख छ ।

पीडितको जन्ममिति १८ जेठ २०६१ पुष्टि हुने गरी पठाएको विवरणमा पनि आमाको नाम, उमेरजस्ता विवरण फरक परेपछि त्यसमाथि प्रश्न उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?