जापानमा निर्माणस्थलमा फ्रेम खस्दा २ जनाको मृत्यु

जापानमा निर्माणस्थलमा फ्रेम खस्दा दुई जनाको मृत्यु भएको छ । टोकियोको जेआर टोकियो स्टेशन यासु एग्जिट नजिकै एउटा भवन निर्माणस्थलमा क्रेनले उठाउँदै गरेको स्टिलको फ्रेम खस्दा दुई जनाको मृत्यु भएको हो ।

स्टिलको फ्रेम खस्दा ५ जना कामदार घाइते भएकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी महाशाखाले घटनास्थलबा इन्चार्जसँग सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी विभागका अनुसार करिब १५ टन तौलको ३० मिटर लामो स्टिल फ्रेमलाई क्रेनले उठाएन निर्माणस्थलमा अन्य स्टिल फ्रेममा पुर्याउने काम भइरहेको थियो । टोकियोका चुओ वार्डको याएसुको भवनको निर्माणका क्रममा यो दुर्घटना भएको हो ।

सो दुर्घटनामा स्टिल फ्रेममा काम गरिरहेका पाँच जना पुरुष कामदार सातौं तलाबाट तेस्रो तलामा खसेका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा साइतामा प्रिफेक्चरको आसाका सिटीका कम्पनी कर्मचारी ३३ वर्षीय युइचिरो हारा र ४३ वर्षीय यामातो हानादा रहेका छन् । ४० वर्षीय एक र २० वर्षका अर्का एक जनासहित ३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?