एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने बित्तिकै नेम्वाङको निधन भइसकेको घोषणा गरेका थिए ।

नेम्वाङको निधनपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु अस्पतालमा छन् ।

पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार निर्वाचित हुँदै आएका थिए । उनी हाल एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दादेखि नै अनेरास्ववियुमा संगठित भएर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । सोही समयमा नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट निर्वाचित भएका उनी संविधानसभाको अध्यक्ष भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?