एनआरएनए जापानको अन्तर्क्रिया सम्पन्न, साझा धारणा बनाएर अघि बढ्न एकमत

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आयोजना गरेको नेपाली संघसंस्थाहरुबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जापानको टोकियोमा सम्पन्न विशेष अन्तर्क्रिया कार्यक्रममा जापानमा क्रियाशील नेपाली संघसंस्थाहरु जापानमा रहेका नेपालीहरुको समस्या समाधानका लागि साझा धारणा बनाएर अघि बढ्न सहमत भएका छन् ।

जापानका नेपालीहरुको वर्तमान अवस्था बारेमा एनआरएनएका पूर्व महासचिव जिज्ञानकुमार थापा, नेपाली संघसंस्थाहरुबीच सहकार्य र समन्वय कायम गर्दै समस्या समाधानका लागि साझा धारणा बनाई अगाडि बढ्नका लागि तय गरिनुपर्ने मार्गचित्र विषयक अवधारणपत्र पत्रकार तिलक मल्ल, जापानमा एनआरएन, संघसंस्था र नेपाली राजदूतावासबीचको कार्यगत एकता सम्बन्धमा एनआरएन आईसीसी उपाध्यक्ष भूषण घिमिरे र जापानमा ध्यान दिनुपर्ने फौजदारी तथा श्रम सम्बन्धी कानुनी प्रावधान बारेमा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा.बलाराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ती कार्यपत्रहरुमाथि सहभागीहरुले आफ्ना सुझाव र प्रतिक्रिया दिएका थिए । जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले नेपाली संघसंस्थाहरुबीच कार्यगत एकता गर्दै नेपालीका समस्या समाधानका लागि आयोजना गरिएको कार्यक्रमबाट ठोस नतिजा हासिल हुने विश्वास व्यक्त गरे ।

उनले जापानमा रहेका नेपालीहरुका समस्या समाधानका लागि गरिने सबै प्रयासमा राजदूतावासको सधैं सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका लागि कार्यक्रम गर्ने प्रवृत्ति, सबै संघसंस्थाले गर्ने उस्तै प्रकृतिका कार्यक्रम र कार्यक्रमहरुको देखासिकी, हरेक कार्यक्रममा उठाइने चन्दाको आतंक, कार्यक्रमहरुको खस्कदो गुणस्तर, वक्ता चयनमा असावधानी जस्ता कारणले संघसंस्थाहरुका कार्यक्रमप्रति आकर्षण घट्दो क्रममा रहेको भन्दै सुधार गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष निउरेले वक्ताहरुले बोल्ने क्रममा उठेका प्रश्नको जबाफ दिएका थिए । उनले कार्यक्रममा आएका महत्वपूर्ण सुझावहरुलाई ग्रहण गर्दै आवश्यक गृहकार्य गरी साझा फोरमको ढाँचा र स्वरुप निर्माण गर्न ५ सदस्यीय कार्यदलको घोषणा गरेका छन् ।

कार्यदलमा भूषण घिमिरे, तिलक मल्ल, डा.बलराम श्रेष्ठ, जिज्ञानकुमार थापा र शालिकराम भण्डारी छन् । कार्यदललाई १ हप्ताभित्र सुझावससहित प्रतिवेदन दिन म्यान्डेड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?