जापान र चीनबीच किन कहिल्यै सम्बन्ध राम्रो बनेन ?

एसियाका दुई ठूला अर्थतन्त्र चीन र जापानबीचको सम्बन्ध एसियाली क्षेत्रको स्थिरताका लागि अत्यन्तै जरुरी छ । तर पूर्वी चीन सागरमा रहेका केही टापुलाई लिएर दुई देशबीच तनाव छ । यतिमात्रै होइन दुई अलग राजनीतिक विचारधाराका दुई देशबीच राजनीतिक र कूटनीतिक क्षेत्रमा समेत समानता पाइदैन ।

पछिल्लो समयमा जापानले फुकुशिमा दाईची परमाणु ऊर्जा संयन्त्रको पानी प्रशान्त महासागरमा फालेको विषयलाई लिएर चीनले जापानबाट आयात गर्ने समुद्री खानामाथि प्रतिबन्ध लगाएको छ । विशेषज्ञहरुका अनुसार आगामी केही वर्षमा दुई देशबीच सम्बन्ध सुधार हुने सम्भावना निकै कम छ ।

दोस्रो विश्वयुद्धअघि जापानले चिनियाँ क्षेत्रमा गरेका गतिविधि र त्यस क्रममा भएका घटनाहरु दुई देशबीचको सम्बन्धमा असहजता ल्याउने ठूला कारक हुन् । जापान र चीनबीचको सम्बन्ध किन प्रगाढ बनेन भन्ने जान्नुअघि दुश्मनीको कारण जानौं ।

क्षेत्रीय विवाद
चीन र जापानबीचको विवादको एउटा प्रमुख कारण हो, पूर्वी चीन सागरमा रहेको टापु । जसलाई जापानमा सेनकाकु र चीनमा डियायु टापुका नामले चिनिन्छ । कुनै समयमा यी टापुमा जापानी सिफुडका फ्याक्ट्री थिए र जापानले यसलाई ऐतिहासिक तथा अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो भएको दाबी गर्छ । उता चीनले भने यी टापु सन् १८९५ मा जापानले कब्जा गरेको र दोस्रो विश्वयुद्ध अन्त्यसँगै फिर्ता गर्नुपर्नेमा त्यसो नगरेको बताउँदै आएको छ ।

यी विवादित टापु आसपास अहिले पनि माछाको अत्यधिक संख्या हुनुका साथै तेल भण्डार पनि रहेको छ । जापानले सन् १९६९ मा संयुक्त राष्ट्र संघको रिपोर्टमा सागर मुनिको भागमा प्राकृतिक संशाधन भएको रिपोर्ट आएपछि चीनले यो इलाकामा अचानक दाबी गरेको आरोप लगाउँदै आएको छ ।

सन् १९७२ मा दुवै देशबीच सम्बन्ध सामान्य बनाउने सन्धि भयो । तर त्यो सन्धिमा यसबारे कुनै सम्झौता भएन । सन् २०१२ मा जापानले सेनकाकु टापुमाथि अधिकार दाबी गरेपछि चीनले त्यसको कडा प्रतिवाद गर्‍यो । चीनका तटरक्षक बल र माछा समात्ने डुंगाले यो इलाकामा चक्कर लगाउने सुरु गरे र नियमित रुपमा यो क्षेत्रमा चीनको उपस्थिति बढ्यो ।

जापानले आफ्नो सुरक्षा सहयोगी अमेरिकासँगै दक्षिण चीन सागरमा बढ्दो गतिविधिको आलोचना गर्दै आएको छ । चीनले ताइवान आफ्नो अलग भएको एक प्रान्त भएको बताउँदै आएको छ भने ताइवान आफूलाई स्वतन्त्र देश ठान्छ ।

अमेरिका र चीनबीच व्यापारिक युद्ध र यो क्षेत्रमा सैन्य टकराब बढेसँगै ताइवानमा आपतकालीन अवस्थालाई लिएर जापानमा सशंकित भएको छ । जापानले अमेरिकासँग सुरक्षा साझेदारी बढाएको छ भने चीनले पनि यो क्षेत्रमा युद्धाभ्यासलाई निरन्तरता दिएको छ । जसबाट जापान चीनसँग रुष्ट छ । जापानले आफ्नो सेनालाई दक्षिण पश्चिमी जापानतर्फ लगिरहेको छ । जसमा ओकिनावा र ताइवानको पूर्वी क्षेत्रमा रहेका दुरदराजका टापु पनि सामेल छन् ।

अमेरिकाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले यो क्षेत्रमा विशाल सैन्य गतिविधि गरेको थियो । ओकिनावा नजिकैका क्षेत्रमा ५ ब्यालिस्टिक मिसाइल समेत प्रहार गरेको थियो । ताइवानलाई लिएर युद्धको त्रास बढिरहँदा जापानले आफ्नो सैन्य क्षमता तीव्र रुपमा बढाउन सुरु गरेको छ । जसका लागि जापानले सैन्य बजेटमा भारी वृद्धि गरेको छ । यसका माध्यमबाट पहिले हमला गर्ने क्षमता विकसित गर्नु पनि हुनसक्छ । जुन जापानको हालको नीतिविरुद्ध हो ।

युद्धको इतिहास

दुई देशले आपसमा युद्ध गरेका छन् । यसको सुरुवात सन् १९३०मा भएको थियो र अन्त्य १९४५ मा जापानको हारपछि भयो । चीन जापानबीचको युद्धमा जापानी सेनाले अमानवीय गतिविधि गरेको पाइन्छ । जसमा नानकिंगको बलात्कार काण्डदेखि रासायनिक र जैविक हतियारको प्रयोग समेत सामेल छन् । यतिमात्रै होइन मन्चुरियामा मानवमाथि गरेका केही घातक प्रयोग पनि सामेल छन् । जापानले करिब ४० हजार चनियाँ मजदुरलाई जापानी खानी र फ्याक्ट्रीमा काम गर्न बाध्य बनाएको थियो । जसमध्ये धेरैजसोको कुपोषण र दुर्व्यवहारका कारण मृत्यु भएको थियो ।

सन् १९७२ को सन्धिमा चीनले युद्धमा भएको क्षतिको मुआब्जाको माग छाडिदियो । जसमा चीनले माफी दिएवापत जापानले ‘एक चीन नीति’ स्वीकार गर्ने कुरा सामेल थियो । जापानले पछिल्लो चार दशकमा चीनलाई २५ अर्ब अमेरिकी डलर विकास सहायता दियो ।

चीन र जापानबीचको जुन दरार रहेको यो दक्षिण कोरियासँग जस्तो एक÷दुई घटनामा सीमित छैन । जापानले दोस्रो विश्वयुद्धअघि चीनमा गरेको अमानवीय व्यवहार चिनियाँ कम्युनिस्ट पार्टी बलियो हुनुमा सहायक बनेको थियो । जसले जापानी गतिविधिको लगातार विरोध गर्दै आएको छ र चीनमा जापानी हस्तक्षेप भोगेका जनतामा जापानविरोधी गहिरो छाप छ ।

चीनले टोकियोको यासुकुनी श्राइनलाई जापानको युद्धको समयको सैन्यवादको प्रतीकका रुपमा लिन्छ । यो स्मारक युद्धमा मारिएका मानिसको सम्मानमा बनाइएको हो । जसमा युद्धअपराधीहरु समेत थिए । यहाँ जापानी सांसद र मन्त्रीहरुको भ्रमणलाई चीन युद्धका क्रममा जापानको तर्फबाट चीनमाथि भएको ज्यादतिप्रति संवेदनहिनताका रुपमा लिने गर्छ । दक्षिण कोरियाका साथै चीनले नियमित रुपमा यस प्रकारको भ्रमणको विरोध गर्दै आएको छ । कोरिया सन् १९१० देखि १९४५ सम्म जापानी उपनिवेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?