शंकर पक्षका रिजाललाई हराउँदै विष्णु पक्षका कंडेल एमाले लुम्बिनीको अध्यक्षमा विजयी

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी बनेका छन् ।

बुधबार बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले हराउँदै कंडेल विजयी भएका हुन् ।

विजयी भएका कंडेल उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने पराजित भएका रिजाल महासचिव शंकर पोखरेल निकट हुन् । कंडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत पाए ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी भए भने रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित भए ।

खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ४१८ मत पाएर विजयी भए । उनी शंकर पोखरेल निकटका हरि रिजालको प्यानलबाट उम्मेदवार बनेका थिए । कंडेल प्यानलका अर्का प्रत्यासी दुर्गाबहादुर चौधरीले ३९३ मत पाए ।

महिला उपसचिवमा लिला राना ३५२ मत पाएर विजयी भइन् भने वसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् ।

पदाधिकारीमा उपसचिव पूर्ण बुढामगरबाहेक सबै कंडेल प्यानलका उम्मेदवारहरु विजयी भएका छन् भने सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य पनि कंडेल पक्षका हुन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भए । उनी पनि कंडेल प्यानलका हुन् । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?