मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव गिरफ्तार

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा उनलाई प्रहरीले सप्तरीको राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ ।
२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचीमा थिए ।

यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप लागेको थियो ।

तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई गोली हानी चौधरीको हत्या भएको थियो ।

मृतककी दिदी रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसहित नौ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?