व्यापार प्रवद्र्धनको उद्देश्यले टोकियोमा जापान–नेपाल विकास मञ्च गठन

नेपाली दूतावास जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको प्रयासमा टोकियोमा जापान–नेपाल विकास मञ्च स्थापना भएको छ ।

जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री मोतोयुकी ओदाची छानिएका छन् ।

यसैगरी उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा, हिरोयुकी फुकुयामा, डा.तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा चयन भएका छन् ।

जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत मञ्चका पदेन संरक्षक रहेका छन् ।

नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापानको सहयोगसँगै जापानको निजी क्षेत्रबाट पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगारजस्ता क्षेत्रमा लगानी, औद्योगीकरण तथा नेपाल र जापानको व्यापार प्रवद्र्धनमा योगदान दिने उद्देश्यले मञ्चको स्थापना भएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको धाराणा राखेका थिए ।

जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापान नेपालको विकासको प्रमुख साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?