सिंहदरबारमा आगो लगाउने धम्कीबारे बालेनले दिए स्पष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार साँझ सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाउने धम्कीसहितको स्टाटसबारे प्रष्टीकरण दिएका छन् ।

उनले श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका हुन् ।

आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाका दिन चलाउने अनुमतिपत्र लिइए पनि शनिबार साँझ ट्राफिकले रोकेको समयमा सो पत्र गाडीमा नभएको स्वीकार गरेको छ ।

बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआइसियूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।’

बालेनको सचिवालयले पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय र खेदजनक छ ।’

‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लंघन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बालेनको सचिवालयले यस घटनाका विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिई समाचार सम्प्रेषण गराएको आरोप लगाएको छ ।

यद्यपि विज्ञप्तिमा मेयर बालेन शाहले अबदेखि महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने धम्कीसहित लेखेको स्टाटसबारे भने केही उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?