संसदीय समितिका सभापतिले लिए शपथ

प्रतिनिधिसभा अन्तर्गतका १० वटै विषयगत समितिका सभापतिहरूले शपथ लिएका छन् ।

सोमबार सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए । उनीहरू सबैलाई सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतका १० समितिको नेतृत्वका लागि आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो ।

तर सोमबार उद्योग समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल, तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?