चीनमा जापानी प्रतिष्ठानहरु विरोधको निशानामा !

जापानले फुकुशिमा दाईची परमाणु संयन्त्रको रेडियोएक्टिभ पदार्थ मिश्रित पानी प्रशान्त महासागरमा फालेको विषय अन्तर्राष्ट्रिय स्तरमा विरोधको कारण बनेको छ ।

चीनमा रहेका जापानी प्रतिष्ठानहरु समेत विरोधको निशानामा परेका छन् । बिहीबार पानी समुद्रमा मिसाउने प्रक्रिया सुरु भएपछि शांगदोंगमा रहको छिंगदाओमा एक जापानी स्कुलको मैदानमा ढुंगा प्रहार गरेको घटना बाहिर आएको छ ।

यसैगरी शुक्रबार जियांग्सु प्रान्तको सुजोस्थित अर्को जापानी स्कुल परिसरभित्र अण्डा फ्याँकिएको थियो । यद्यपि यी दुवै घटनामा कुनै क्षति भएको छैन । विद्यालयले आफ्नो परिसरभित्रको सुरक्षा व्यवस्था भने कडा बनाएका छन् ।

बेइजिङस्थित जापानी दूतावास र चीनस्थित जापानी महावाणिज्य दूतावासका अधिकारीहरुले केही मानिसले टेलिफोन गरेरै विरोध जनाइरहेको भन्दै यस्ता घटनाले हैरानी सिर्जना गरेको उल्लेख गरेका छन् ।

दूतावासका अधिकारीहरुले अप्रत्यासित कुनै घटना हुनसक्ने भन्दै सुरक्षा व्यवस्था बढाएको बताएका छन् । दूतावासका अधिकारीहरुले दूतावासमा आम मानिस सहभागी हुने कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुअघि घटनाक्रममाथि निगरानी राखिने जनाएका छन् ।

चीनको सामाजिक सञ्जाल बेइबोमा केही मानिसहरुले जापानी सामग्री बहिस्कार गर्न अपिल गरिरहेका छन् ।

गत साता पानी प्रशान्त महासागरमा फ्याँक्ने प्रक्रिया सुरु भएपछि चीन सरकारले जापानबाट आयात हुने सबै समुद्री खाद्य पदार्थ आयातमा रोक लगाएको छ । चीनका सरकारी सञ्चारमाध्यमले यसलाई परमाणु दूषित पानी भएको बताइरहेका छन् ।

सन् २०११ को महाभूकम्प र सुनामीमा फुकुसिमा दाइची परमाणु विद्युत गृहका तीन रिएक्टरमा क्षति पुगेपछि यसलाई चिस्याउन समुद्रका पानी प्रयोग गरिएको थियो ।

संयन्त्रको पानीको अधिकांश रेडियोधर्मी पदार्थ हटाउन प्रशोधन गरिएको थियो । तर यसमा अझै हानिकारक ट्रिटियमको मात्रा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?