स्थानीय प्रशासनले सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकपनि शुक्रबारराति १२ बजेदेखि शनिबार दिउँसो १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
यसैगरी धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । यहाँबाट धरानमा प्रदर्शनका लागि आउनेहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
धरानमा केही दिनअघि गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको विषयले उग्ररुप लिँदै गएको हो । यो घटनाको विरोधमा केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् ।
सो प्रदर्शनमा प्रतिकारको समेत तयारी भएको देखिएपछि परिस्थितिलाई काबुमा राख्न निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेध गरिएको उल्लेख छ ।