नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) चलाएको अपरेशन फोक्सट्रोट चार्ली अन्तर्गत थप एक जना चिकित्सक पक्राउ परेका छन् । यो सँगै अपरेशनमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेको जनाएका छन् ।
ब्युरोले बिहीबार कांग्रेस सांसद् सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् ।
बिहीबार सीआईबीले शर्मासहित महोत्तरीका डा.रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, रौतहटका डा.रामबाबु यादव र डा.एरिना शाहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा हिरासतमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरता अनुसार उनीहरु पक्राउ परेको बताएकी छन् ।
ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेकाले थप चिकित्सकहरु पक्राउ पर्ने अनुमान गरिएको छ ।