जापानमा कतै अत्यधिक गर्मी, कतै भारी वर्षा

जापानका अधिकांश भागमा उच्च चापीय प्रणालीका कारण शुक्रबार पनि अत्यधिक गर्मी जारी रहने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

केही समयदेखि बढ्दो गर्मी रहेको जापानको इशिकावा प्रिफेक्चरमा ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको एजेन्सीले जनाएको छ ।

दक्षिणपश्चिम जापानको इशिकावा प्रिफेक्चरको कोमात्सु सहरमा ३९ डिग्री तापक्रम पुग्दा फुकुओकाको दाजाइफुमा ३८.६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

क्युसु, चुगोकु र कान्तो क्षेत्रमा पनि तापक्रम उच्च रहने भएकाले गर्मीबाट बच्न अधिकारीहरुले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

कुरुमे, फुकुओका र तोत्तोरीमा शुक्रबार ३८ डिग्री तापक्रम हुने अनुमान गरिएको छ । फुकुओका सिटी, फुकई सिटी, माइबाशी सहर, गुन्मा प्रिफेक्चरमा तापक्रम ३७ डिग्री पुग्ने अनुमान छ ।

यसैगरी मध्य टोकियो, योकोहामा, मितो, कुमामोतो, ताकामात्सु, क्योतो, निगाता, कोफु र फुकुसिमामा ३६ डिग्रीसम्म तापक्रम हुने अनुमान छ ।

जापानका अधिकांश क्षेत्रमा अझै दुई सातासम्म चर्को गर्मी रहने मौसम विज्ञान एजेन्सीको अनुमान छ । जापानमा बढ्दो गर्मीका कारण केही क्षेत्रमा सर्वसाधारणले ज्यान समेत गुमाएका खबर आएका छन् ।

एजेन्सीले अत्यधिक गर्मीका समयमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन तथा एयर कन्डिसनको प्रयोग गर्न, तिर्खा नलाने पनि पटक पटक पानी खान सल्लाह दिएको छ ।

उता जापानको होक्काइदो क्षेत्रमा भने वर्षा भएको छ । शुक्रबार पनि जापानका समुद्री किनारका क्षेत्र र होक्काइदोको ओखोत्स्क समुद्रका उत्तरी क्षेत्रमा वर्षाको सम्भावना छ ।

यी क्षेत्रहरुमा आइतबारसम्म कुल वर्षा अगस्ट महिनाको औसत वर्षाभन्दा बढी हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?