मतदाताको विश्वासलाई डगमगाउन दिनेछैन : नवनिर्वाचित अध्यक्ष निउरे

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरेले मतदाताको विश्वास कहिल्यै पनि डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि आभार तथा धन्यवाद ज्ञापन गर्दै निउरेले मतमार्फत गरेको अनुमोदनलाई एनआरएनए जापानलाई समृद्ध बनाउने योजनामा सबैलाई समेटेर अघि बढ्ने बताएका छन् ।

उनले जापानस्थित नेपाली राजदूतावास, जापानमा रहेका सक्रिय संघसंस्था, समाज, व्यक्ति, व्यक्तित्व, सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनी आइतबार सम्पन्न निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै २०२३–२५ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । आफू निर्वाचित भएपछि उनले एक सन्देश जारी गर्दै जापानस्थित सम्पूर्ण नेपालीहरूमा आभार प्रकट गरेका छन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु भई उपविजेता र यस कार्यकालको लागि मात्र कार्यसमितिको टिम बाहिर रहनु भएका सम्पूर्ण सहकर्मी मित्रहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै यहाँहरूले उठान गर्नु भएका एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई सँगसँगै समेटेर सहकार्य गर्दै अघि बढ्ने छु । एनआरएनएप्रति नेपाली समुदायलाई सकारात्मक बनाउन अब केबल नयाँ सोच सहितको योग्य नेतृत्वले मात्र गर्न सक्छ भन्ने मान्यतालाई यहाँहरूले मतमार्फत गरेको अनुमोदनलाई शिरोधार्य गर्दै यो विश्वासलाई कहिल्यै डगमगाउन दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?