जापानले गर्‍यो चीनमा चिप उत्पादनमा प्रयोग गरिने उपकरण निर्यातमा कडाई

जापान सरकारले चीनमा चिपको उत्पादनमा प्रयोग हुने उपकरणको निर्यातमा कडाई गरेको छ ।

जापान सरकारले आइतबारदेखि सेमिकण्डक्टर उत्पादन उपकरण निर्यातमा कडाई गर्न थालेको हो । विशेष गरी चीनमा ढुवानी हुने सामानहरुमा कडा नियमहरु लाग्नेछ ।

जापानको व्यापार मन्त्रालयले पहिले नै नयाँ नियमहरु लागू हुने २३ वस्तुको पहिचान गरेको थियो । जसमा लिथोग्राफी मेशिनहरु समेत रहेका छन् । जापानी कम्पनीहरु यसको प्रमुख निर्यातकका रुपमा रहेका छन् ।

नयाँ नियमहरुले अमेरिका, दक्षिण कोरिया र ताइवानसहित जापानले सेतो सूचीमा राखेका ४२ गन्तव्यहरुमा निर्यातमा भने असर गर्नेछैन । तर चीनसहितका गन्तव्यमा पठाउन कडा चेकजाँचको सामना गर्नुपर्नेछ ।

अमेरिकाले जापान र नेदरल्याण्डस् विश्वव्यापी चिप बनाउने उपकरण बजारको महत्वपूर्ण हिस्सा भएका देशहरुलाई उनीहरुको निर्यात नियन्त्रण गर्न आग्रह गरेपछि यो कदम आएको हो ।

अत्याधुनिक प्रविधिलाई लिएर चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा देखिदै आएको छ ।

चीनले अगस्ट १ देखि ग्यालियम र जर्मेनियम लगायतका दुर्लभ धातुहरुको निर्यातमा पनि नियन्त्रण गर्ने घोषणा गरेको छ ।

जापानले यो कदम अमेरिकी आग्रहमा चीनविरुद्ध चालेको अनुमान गरिएको छ । तर जापानले यो कदमपछि बेइजिङको नियत बुझ्न र त्यसको प्रभाव मूल्यांकन गर्न यो उपाय कसरी लागू हुन्छ भनेर हेर्ने योजना बनाएको जनाइएको छ ।

जापानको यो कदम फुकुसिमा आणविक भट्टीको विकिरण मिसिएको पानी समुद्रमा मिसाउने घोषणाबीच चीनले जापानबाट सामुद्रिक माछा आयातमा लगाएको प्रतिबन्धपछि आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?