आमाले नै प्रहरीलाई दिइन् छोराछोरीको हत्या गरेको बयान !

जापानको इबाराकी प्रान्तमा एक अपार्टमेन्टको कोठामा दुई बालबालिका सोमबार बिहान अचेत अवस्थामा फेला परेका छन् ।

प्रहरीले सोमबार बिहानै मितो सहरमा दुई बालबालिका अचेत अवस्थामा फेला परेको जानकारी दिएको छ । प्रहरीले फेला पारेर अस्पताल लगे पनि चिकित्सकले बालकको मृत्यु भएको पुष्टि गरेका छन् ।

अपार्टमेन्टको कोठामा अचेत अवस्थामा फेला पारेका दुबै जनालाई तत्कालै अस्पताल लगिएको थियो । सो क्रममा बालकको मृत्यु भएको पुष्टि भए पनि बालिकाको अवस्था खुलाइएको छैन ।

घटनाबारे सोधपुछ गर्दा उनीहरुकी आमाले आफूले बच्चाको हत्या गरेको बयान दिएकी छन् ।

प्रहरीका अनुसार बिहान साढे ६ बजे मितो सहरको हिरासु–चोस्थित अपार्टमेन्टमा बस्ने आमाले आफूले बच्चाको हत्या गरेको जानकारी प्रहरीलाई दिएकी थिइन् ।

प्रहरी घटनास्थलमा पुगेपछि कोठामा एक बालक र बालिकालाई बेहोस अवस्थामा फेला पारेको थियो ।

प्रहरीले बालकको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । आमासँग पनि घटनाको कारण र उनको मानसिक स्वास्थ्य लगायतका विषयमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?