रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर विद्रोहबाट पछि हट्यो

रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले विद्रोहको प्रयास गरेको २४ घण्टा नपुग्दै युक्रेन युद्धमा महत्वपूर्ण रोस्तोभ–अन–डनका सहर छोड्न थालेको छ ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रक्तपातबाट बच्नका लागि युक्रेन फर्कन आह्वान गरेका थिए । येभगेनी भने रुस छाडेर बेलारुस जाने भएका छन् ।

रुसी सञ्चारमाध्यमहरूले अब उनी र उनका सेनाहरूविरुद्ध लगाइएको आरोप हटाइने जनाएका छन् । योसँगै रुसमा एक दिन चलेको अराजक र असाधारण दिनको अन्त्य भएको छ ।

वाग्नर समूह रुसको सरकारी सेनासँग मिलेर युक्रेनमा लडिरहेको निजी सेना हो । पछिल्ला महिनाहरुमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको कडा आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको थियो ।

शनिवार वाग्नरका सैनिकहरू युद्धरत युक्रेनस्थित आफ्नो क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ–अन–डनमा प्रवेश गरेपछि तनाव चुलिएको हो ।

उनीहरुले मस्कोतर्फ अघि बढ्ने क्रममा उत्तरमा पर्ने भोरोनेज सहरको सैन्य संरचनाहरू पनि नियन्त्रणमा लिएका थिए ।

क्रेमलिनलाई राजधानी मस्कोसहित थुप्रै स्थानहरूमा सुरक्षा कडा बनाउन दबाब दिँदै भाडाका लडाकुहरू राजधानीतर्फ अघि बढेका थिए ।

आवश्यक परेको खण्डमा वाग्नर लडाकुहरूविरुद्ध लड्न हजारौं कुलीन चेचेन सेनाहरू मस्कोतर्फ लागेको चेतावनीहरू समेत दिइएको थियो ।

प्रतिक्रिया स्वरूप राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोखा दिन खोज्नेहरूलाई सजाय दिने वाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?