टोकियोमा जुलाई २२ र २३ मा हुने नेपाल फेस्टिवलका लागि स्टल बुकिङ खुला

जापानको राजधानी टोकियोमा आगामी जुलाई २२ र २३ मा हुन लागेकाे नेपाल फेस्टिवलको तयारी तीव्र पारिएको छ ।

नेपाली राजदूतावास जापान र गैर आवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा हुन नेपाल फेस्टिवल आयोजना गर्न लागिएको हो । फेस्टिवल नाकानोस्थित नाकानो सिकि नो मोरी पार्कमा आयोजना हुन लागेकाे छ ।

फेस्टिवल आयोजनाको लागि पार्क व्यवस्थापन, नाकानो सिटी प्रशासनसहित फोहोर व्यवस्थापन लगायत सरोकारवाला निकायसँग छलफलसहित काम अघि बढाइएको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिए ।

नेपाल फेस्टिवल मूल आयोजक समितिका संयोजक समेत रहेका पौडेलका अनुसार फेस्टिवलका लागि आवश्यक समितिहरु गठन अन्तिम चरणमा पुगेको छ भने प्रमुख समितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जस अनुसार फेस्विल मूल आयोजक समितिको उपसंयोजकमा संगिता अधिकारी सुवेदी र सचिवमा सिद्धार्थ श्रेष्ठ छन् ।

यसैगरि आर्थिक व्यवस्थापनमा नविन निउरे र स्टल व्यवस्थापनसहित प्रचार प्रसारको जिम्मेवारी सुभास लामिछानेले पाएका छन् ।

स्टल बुकिङ खुल्यो
नेपाल फेस्टिवलमा यसपटक स्टलहरु घटाइने भएको छ । यसपटक स्टलहरुको संख्या आधा कम गरिन लागिएको नेपाल फेस्टिवल स्टल व्यवस्थापन समितिका संयोजक सुभास लामिछानेले जानकारी दिए ।

पार्कको क्षेत्रफल अनुसार स्टल धेरै हुँदा गत वर्ष आगन्तुकहरुलाई मनोरञ्जन लिन, जापानी नागरिकहरुलाई नेपालको पर्यटकीय स्थलहरुबारे बुझ्न, नेपाली कला, संस्कृति र सांस्कृतिक प्रस्तुतिहरु अवलोकन गर्न स्थान साँघुरो भएको गुनासो आएपछि यसपटक स्टलहरुको संख्या आधा कम गरिने भएको एनआरएनए जापानका प्रवक्ता समेत रहेका लामिछानेले जानकारी दिए ।

फेस्टिवलमा कुल २६ वटा स्टल रहने बताउँदै लामिछानेले खानाका स्टल १० वटा मात्र रहने बताए । फुड स्टलसहित व्यावसायिक स्टलको बुकिङ खुला गरिएको र पहिले बुकिङ गर्नेलाई पहिलो प्राथमिकतामा स्टल उपलब्ध गराइने भएकाले ईच्छुक व्यक्ति, व्यवसायी तथा संस्थाहरुलाई यथाशक्य छिटो स्टल सुनिश्चित गर्न स्टल व्यवस्थापन समितिका संयोजक लामिछानेले आग्रह गरेका छन् ।

जुन महिनाको अत्यसम्म स्टल बुकिङ र बाँडफाँड समय राखिएपनि तोकिएको संख्यामा बुकिङ सकिएपछि स्टल बुकिङ बन्द गरिने लामिछानेको भनाई छ । स्टल बुकिङ गर्न ईच्छुक व्यक्तिहरुले गैर आवासीय नेपाली संघ जापानको कार्यसमिति सदस्यहरु सहित व्यक्तिगत रुपमा आफूलाई सम्पर्क गर्न सक्ने लामिछानेले जानकारी दिए ।

फेस्टिवलका बारेमा जापानमा रहेका संघसंस्था तथा अग्रज प्रतिनिधिहरुसँग एक पटक छलफल गरिसकिएको र विषयगत समिति सहित समग्र विषयमा जापानवासी नेपालीहरुको सुझावलाई मनन गरेर सम्भव भएसम्म फेस्टिवललाई नेपाली चिनारी झल्काउने गरी आय樂威壯 ोजना गरिने फेस्टिवल मूल आयोजक समितिका सचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?