
भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा २६१ जनाको मृत्यु भएको छ भने ९ सय भन्दा बढी घाइते भएका छन् ।
ओडिशाको बालासोर जिल्लामा दुर्घटना भएको हो । एउटा यात्रुवाहक रेल पटरीबाट बाहिर खसेको अरु रेलहरु सो रेलमा ठोक्किन पुगेको अनुमान गरिएको छ ।
यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो । ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २ सयभन्दा बढी एम्बुलेन्स, दर्जनौं चिकित्सक र नर्सहरूलाई पठाइएको जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोक घोषणा गरिएको छ । घटनापछि केही जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएको देखिएको थियो ।
