भारतमा २ हजारका नोट ६ वर्षमै असफल ! चलनचल्तीबाट हटाउने घोषणा

भारतमा २ हजारका नोट निकालेको ६ वर्षमै असफल भएको प्रष्ट भएको छ । रिजर्भ बैंकले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको हो ।

विज्ञप्ति जारी गर्दै आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर, २०२३ सम्म बैंकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।

सर्वसाधारणले आफ्नो बैंक खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि बैंक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानुनहरू मात्र लागु हुनेछन् ।

के छन् आरबीआईका नयाँ नियम ?
-मे २३, २०२३ देखि नोटहरू बैंक खाता वा कुनै पनि बैंकमा साट्न सकिन्छ
-कुनै पनि बैंक शाखामा एक पटकमा २० हजार सम्म जम्मा गर्न सकिन्छ
-यी सबै प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न र जनतालाई पर्याप्त समय दिनका लागि सबै बैंकहरूमा सेप्टेम्बर ३०, २०२३ -सम्म रकम जम्मा गर्ने सुविधा उपलब्ध हुनेछ
-आरबीआईले बैंकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न निर्देशन दिएको छ
-आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरिएको बताएको छ
-आरबीआईका अनुसार साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८–१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो
-आरबीआईका अनुसार दुई हजारको ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो

सन् २०१६ पछि २ हजारको नोट

सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए ।

त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट ल्याएको थियो । यद्यपि विगतका वर्षहरूमा ५०० को नोट निकै चलेको थियो । तर एटीएम र बैंकहरुमा दुई हजारको नोटको अभावलाई लिएर प्रश्नहरू उठिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?