जी–७ देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरु वैश्विक अर्थव्यवस्थालाई लचिलो बनाइराख्नका लागि उचित कदम चाल्न तयार भएका छन् ।
शनिबार मध्य जापानको निगाता प्रिफेक्चरमा ३ दिने बैठक समापनका अवसरमा संयुक्त वक्तव्य जारी गर्दै अर्थमन्त्री र गभर्नरहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
अमेरिकामा केही बैंक डुबेको घटना सार्वजनिक भइरहेका बेला बैठक बसेको हो ।
आर्थिक प्रमुखहरुले हालैका घटनाबाट सिक्दै डिजिटल युगसँग जोडिएको आर्थिक जोखिमबारे बैठकमा छलफल गरेका हुन् ।
उनीहरुले रुसी आक्रमणबीच युक्रेनलाई बलियो आर्थिक सहयोग दिइरहन समेत सहमति जनाएका छन् ।
रुसले जारी आर्थिक प्रतिबन्धबाट बच्न र उसलाई कमजोर बनाउने कुनै पनि प्रयासको जवाफ दिने उनीहरुले बताएका छन् ।
उनीहरुले स्वच्छ ऊर्जासम्बन्धी महत्वपूर्ण उत्पादनको आपूर्ति शृङ्खलालाई थप लचिलो बनाउनका लागि मजबुत सहयोग गर्ने संकल्प गरेका छन् ।
वित्तीय प्रमुखहरुले विकासशील तथा उदाउँदा अर्थव्यवस्थासहित इच्छुक देशसँग साझेदारी गर्ने प्रयास गरिरहेका छन् ।
यो बैठकका निष्कर्षहरु आगामी साता हिरोसिमामा हुने जी–७ शिखर सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ ।