
एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि उचालेको हो ।
यससँगै नेपालले एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ । यूईएले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि गुल्सन झाले अविजित ६७ रनको योगदान दिए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।
सोमबार त्यहीबाट खेल अघि बढाएको युएईले थप ११ रन जोड्दा दशौं विकेट गुमायो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने खराब रह्यो ।
दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए । त्यसबेला नेपालले एक रनमात्रै जोडेको थियो ।
तेस्रो नम्बरमा गुल्सन झा ब्याटिङमा आए । गुल्सनसँग १८ रनको साझेदारी गरेका आसिफ शेख सातौं ओभरको पहिलो बलमा ८ रन बनाएर आउट भए ।
तेस्रो विकेटका रुपमा रोहितकुमार पौडेल पनि १ रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर गुल्सनले भीम सार्कीसँग मिलेर ९६ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए ।
८४ बलको सामना गरेका गुल्सनले तीन चौका र ६ छक्का प्रहार गरे । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले चार चौका हाने ।
योसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । एसिया कपको समूह एमा नेपालले भारत र पाकिस्तानको सामना गर्नेछ ।