जापानमा एकमात्रै छात्राका लागि दीक्षान्त समारोहको आयोजना

दीक्षान्त समारोह भनेपछि तपाई के बुझ्नुहुन्छ ? पक्कैपनि तामझामपूर्ण समारोह र सम्बन्धित शैक्षिकसंस्थाबाट उत्तीर्ण भएर जान लागेका विद्यार्थीको ठूलो समूह भन्ने बुझिन्छ ।

तर जापानको कागावा प्रिफेक्चरको एउटा टापुको निम्न माध्यमिक विद्यालयले एक जना मात्रै छात्राका लागि दिक्षान्त समारोहको आयोजना गरेको छ । यसपटक सो विद्यालयबाट दीक्षित हुने उनी एक्लो विद्यार्थी थिइन् ।

विद्यालय पश्चिम जापानको कागावा प्रिफेक्चरको तटबाट करीब १५ किलोमिटर टाढा छ । टापु सोही प्रिफेक्चरको मारुगामे शहरको ओतेशिमाको हिस्सा हो ।

०.६ वर्गमिटरमा फैलिएको सो टापुको जनसंख्या मार्च १ सम्ममा जम्मा ३४ जना मात्रै थियो । यहाँका बासिन्दाहरुको मुख्य पेसा माछा मार्नु हो ।

सो टापुमा १८ वर्षभन्दा मुनि एक मात्रै व्यक्ति छन् । ओतेशिमा निम्न माध्यमिक विद्यालयबाट एक्लै दीक्षित हुने छात्रा आकिनो इमानाका हुन् ।

एक जनालाई पढाउन सो विद्यालयमा पाँच जना शिक्षक छन् । इमानाकाका लागि मार्च १४ मा आयोजना गरिएको दीक्षान्त समारोहमा टापुका बासिन्दासहित ५० जना सहभागी भएका थिए ।

इमानाकालाई पढ्न सजिलोका लागि केही शिक्षक कहिलेकाँही विद्यार्थी पनि बनिदिन्छन् । गत वर्षको जुनमा विद्यालयले आयोजना गरेको वार्षिक खेल दिवसमा टापु बाहिरबाट ६० जना आएका थिए । अरुबेला भने विद्यालयमा उनी एक्लै हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?