कुखुरा नष्ट गरिएसँगै आकाशियो जापानमा अन्डाको मूल्य

जापानमा अन्डाको मूल्य आकाशिएको छ । बर्डफ्लुको प्रकोप फैलिएपछि लाखौं कुखुरा नष्ट गरिएसँगै जापानमा अन्डाको मूल्यमा रेकर्ड वृद्धि भएको हो ।

यसअघि देखि नै महंगीको मार खेपिरहेका जापानवासीहरुमा अन्डाको मूल्यमा भएको उच्च वृद्धिले थप भार बढेको छ । यो सिजनमा जापानभर १ करोड ६० लाख कुखुरा नष्ट भएकोमा ९० प्रतिशत भन्दा धेरै लेयर्स कुखुरा थिए ।

अन्डा दिने लेयर्स कुखुरा ठूलो मात्रामा नष्ट गर्नुपरेपछि अन्डाको आपूर्ति प्रभावित भएको छ । जसका कारण मूल्य आकाशिदै गएको छ ।

टोकियोमा मझौला आकारका कुखुराको अन्डाको मूल्य प्रति केजी ३३५ येनसम्म पुगेको छ ।

टोकियोबासीहरुले अन्डाका लागि यति ठूलो मूल्य तिर्नुपरेको सन् १९९३ मा यस्तो तथ्यांक उपलब्ध हुन थालेयताकै उच्च भएको जेए कृषि सहकारी समूहभित्रको अन्डा विक्रेता जेए.जेड.–तामागो कम्पनीले बताएको छ ।

अन्डाको मूल्यमा भएको उच्च वृद्धि र अन्डाको अभावका कारण अन्डा प्रयोग गरेर बनाइने परिकारहरु बेच्नै बन्द गर्ने रेष्टुराँ र फाष्ट फूड व्यवसाय समेत प्रभावित बनेको छ ।

हालै मात्रै अमेरिकी फाष्टफुड चेन म्याकडोनल्डस्को जापानी व्यवसायले अन्डा राखेर तयार पारिने बर्गरको बिक्री केही आउलेटहरुमा बन्द गरेको थियो ।

अहिलेको अन्डा अभाव पहिलाकै स्तरमा आउन कम्तीमा पनि ६ महिना लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?