
उपराष्ट्रपतिका चारै जना उम्मेदवारको नाम कायम रहेको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवसहित सबैको उम्मेदवारी कायम रहेको जानकारी दिएको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध एमाले र जनमत पार्टीले उजुरी हालेका थिए ।
तर आयोगले आइतबार बिहानै यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको थियो ।
आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् ।
जसमा शनिबार उम्मेदवारी दिएका चारैजना अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम रहेको छ ।
निर्वाचन आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरे पनि जसपाले आफ्नो पार्टीका दुबै उम्मेदवार कायम राखेको छ । जसपाले २५ फागुनमा नै रामसहाय उपराष्ट्रपतिको उम्मेदवार तोकेको थियो ।
तर राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नहुने प्रश्न उठेपछि जसपाले प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको थियो ।
निर्वाचन आयोगले रामसहायको उम्मेदवारी सदर गरे पनि अदालतमा मुद्दा पर्न सक्ने आशंकाले अन्तिमसम्म दुबै उम्मेदवार कायम राख्ने निर्णयमा पुगेको हो ।
