दिपेश कँडेलको ह्याट्रिक विकेटसँगै यू–१९ विश्वकप क्रिकेटमा छनोट

नेपाल ८ वर्षपछि यु–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको छ ।

बिहीबार भएको खेलमा संकटपूर्ण अवस्थामा पुगिसकेको नेपालका लागि दिपेश कँडेलले ह्याट्रिक विकेट लिएसँगै नेपाल युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै आगमी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो ।

नेपाल सन् २०१६ पछि उमेर समूहको विश्वकपका लागि छनोट हुन सकेको थिएन । नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमा समेटियो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतकको सहयोगमा ४८.५ ओभरमा १९१ रन बनाएको थियो ।

सन् २०१८ को संस्करणमा निर्णायक खेलमा अफगानिस्तानसँग हारेको नेपाल त्यसपछि २०२० र २०२२ को विश्वकपमा युएईसँगको हारले खेल्न पाएको थिएन ।

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपाल युएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रन威而鋼 ले पराजित हुन पुगेको थियो ।

वेष्ट इण्डिजमा सम्पन्न सन् २०२२ को विश्वकपको छनोट प्रतियोगिता कोरोना महामारीका कारण प्रभावित बनेपछि पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा भन्दै युएईलाई नै विश्वकप खेल्न योग्य बनाइएको थियो ।

यी दुई संस्करणमा युएईसँग पछि परेको बदला लिँदै नेपाल ८ वर्षपछि यु–१९ विश्वकपका लागि छनोट भएको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले शतप्रतिशत जितसहित विश्वकपमा स्थान बनाएको हो ।

१९१ रनको लक्ष्य पछ्याएको युएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दबाबमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा ७२ रन बनाउदा युएईले महत्वपूर्ण ३ विकेट गुमायो ।

चौथो विकेटका लागि युएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दिपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे ।

डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाएर रनआउट भए ।

अन्तिम तीन ओभरमा युएईलाई जितका लागि ११ रन चाहिएको थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर दिपेश कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिदा नेपाल हारनजिक पुगेको थियो । युएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो ।

तर, दिपेशले चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिए । दिपेशको आकर्षक ह्याट्रिकसँगै नेपाल ८ वर्षपछि विश्वकपमा छनोट भयो । उनले ४७.४ ओभरमा हर्षिद सेथलाई बोल्ड गरे भने ४७.५ ओभरमा हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याच आउट गराए । ओभरको अन्तिम बलमा मनिष गजेशलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ देव र उत्तम थापा मगरले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

देवले ८४ बल खेल्दै ३ चौका र १ छक्कासहित ५१ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए ।

मध्यक्रममा आएका विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए ।

दिपेश कँडेलले १५ रन बनाए भने हेमन्त धामीले १३ रन जोडे । युएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २–२ विकेट लिए ।

सन् २००० देखि लगातार यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता छनोट हुन संघर्षरत थियो । नेपालले सन् २००६ को संस्करणमा प्लेट च्याम्पियनसिप जितेको थियो भने सन् २००४ र २००८ को संस्करणमा प्लेट च्याम्पियनसिप फाइनल खेलेको थियो ।

नेपाल यु–१९ विश्वकपको समूह चरण पार गर्ने अफगानिस्तान र नामिबियासँगै तेस्रो एशोसिएट टिम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?