गुगलविरुद्ध २,५४० करोड डलर क्षतिपूर्तिको दाबीसहित मुद्दा

अनलाइन विज्ञापनका लागि गुगल माध्यम एडटेकबाट प्रतिस्पर्धामा नोक्सानी पुर्‍याएको आरोपमा बेलायत र नेदरल्याण्डमा गुगलविरुद्ध मुद्दा दायर भएको छ । जसमा २ हजार ५४० करोड डलर क्षतिपूर्तिको दाबी गरिएको छ ।

दुवै देशका प्रकाशकका अनुसार गुगलले एकाधिकारको दुरुपयोग र गलत नीतिका कारण उनीहरुले विज्ञापनबाट हुने आयमा ठूलो नोक्सानी ब्येहोर्नुपरेको छ ।

गुगलको एडटेक नीतिको युरोपेली संघ र बेलायतले यसअघिदेखि नै अनुसन्धान गरिरहेका छन् ।

गत वर्ष फ्रान्सको प्रतिस्पर्धा आयोगले मोबाइल एप र वेबसाइटमा विज्ञापनका लागि गुगलले एड–सर्भरको एकाधिकारको दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना समेत गरेको थियो ।

यही मुद्दा लडेको जेराडिन पार्टनर्सले यी दुवै मुद्दामा बहस गर्ने भएको छ । नेदरल्याण्डमा दायर गरिएको मुद्दामा पुरै युरोपेली संघका प्रकाशकहरु एकजुट भएका छन् ।

गुगलले भने यो मुद्दालाई कल्पनामा आधारित भएको बताएको छ । उसले गुगल एडटेकले महत्वपूर्ण विज्ञापन प्लेटफर्मका रुपमा सेवा दिएको र लाखौं वेबसाइट र एप्स बनाउन सहायता गरेको उल्लेख गरेको छ । उसले आफ्नो पुरै शक्ति लगाएर मुद्दा लड्ने समेत उल्लेख गरेको छ ।

ल फर्मले भने गुगलले प्रकाशकको एड सर्भर र एड एक्सचेन्जको दुरुपयोग सन् २०१४ देखि नै गरिरहेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?