नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नति गर्न सहयोग गर्ने जापानको प्रतिबद्धता

जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापान सरकारका पार्लियामेन्ट्री सहायक विदेशमन्त्री ताकागी केईसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आगामी दिनमा थप सदृढ पार्ने विषयमा कुराकानी भएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

द्विपक्षीय व्यापार, लगानी, रोजगारी र पर्यटन प्रवद्र्धन आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै राजदूत सुवेदीले विपद् व्यवस्थापन तथा फोहोर व्यवस्थापनका क्षेत्रमा समेत जापानी सहयोगका लागि अनुरोध समेत गरेका छन् ।

भेटका अवसरमा राजदूत सुवेदीले द्विपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदानको आवश्यकतामा जोड दिँदै मन्त्री केईलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

जापानमा करिब १ लाख नेपाली रहेको र सो संख्या बढ्ने क्रममा रहेको बताउँदै राजदूत सुवेदीले दुई देशबीचको जनस्तरको सम्बन्ध थप घनिष्ट बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

सोही अवसरमा राजदूत सुवेदीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना समेत व्यक्त गरे ।

पार्लियामेन्ट्री सहायकमन्त्री ताकागी केईले एक अनुभवी र वरिष्ठ कूटनीतिज्ञलाई जापानमा राजदूतका रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

उनले नेपाल र जापानबीच घनिष्ट सम्बन्ध रहेको बताउँदै विकासोन्मुख मुलुकका रुपमा रहेको नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नतिका लागि जापान सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

आगामी दिनमा नेपाल र जापानबीच कायम बहुआयामिक सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्दै केईले यसका लागि जापानको परराष्ट्र मन्त्रालय र जापान सरकारका तर्फबाट सधैं सहयोग रहने वचन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?