चुनाव घोषणासँगै सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आगामी मंसिर ४ गतेका लागि घोषणा भएको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा आगामी निर्वाचनमा सत्ता गठबन्धनको सिट भागबण्डा र त्यसको मोडालिटी लगायतका विषयमा छलफल हुने भएको हो ।

गठबन्धन दलहरुबीच सिट बाँडफाँडसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखजस्ता पदहरुमा समेत अहिले नै सहमति गरेर अघि बढ्ने तयारी छ ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट राम्रो नतिजा हात पारेपछि काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

अन्य दलहरुमा भने गठबन्धनप्रति केही अविश्वास देखिएको थियो । प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धन दलबीचको भागबण्डा पेचिलो छ ।

नेपाली काँग्रेस १६५ निर्वाचन क्षेत्रमध्ये ९९ सिट आफूलाई राखेर अन्य सिटमा तालमेल गर्न चाहन्छ । माओवादी केन्द्रले ५० सिट, एकीकृत समाजवादीले २५ र जसपाले १५ सिटमा दाबी गर्ने तयारी गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले एक सिट पाउने निश्चित छ र उसको दाबी पनि सोही अनुसारको हुने सम्भावना छ । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले कुल ९१ सिटमा दाबी गर्दा ७५ सिट बाँकी रहन्छ ।

गठबन्धनमै रहेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि समेट्नुपर्ने चुनौती छ । यसो गर्दा सबै दलको दाबीमा केही सिट तल झर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?