कोरोनाले जापानको स्वास्थ्य प्रणाली बिग्रन सक्ने डाक्टरहरूको चेतावनी

कोरोना भाइरसका नयाँ केस आउने क्रम जारी रहिरहे जापानको चिकित्सा प्रणाली बिग्रन सक्ने चेतावनी त्यहाँका चिकित्सकहरूले दिएका छन्।

संक्रमित बिरामीको भार र उनीहरुको उपचारमा केन्द्रित हुँदा  आपतकालिनरुपमा आएका केही गम्भिर बिरामीलाई समेत अस्पतालले उपचार गर्न नपाएको जापानी अधिकारीहरुले बताएका छन्।

कोरोना लक्षण भएका एक विरामीलाई ८० वटा अस्पतालले भर्ना लिन नमानेको जस्ता विवरणहरु उनीहरूले दिएका छन्।

जापानका दुई चिकित्सक संघहरूले कोरोनाका कारण गम्भिर र आपतकालिन स्थितिमा उपचार गराउन आउने अन्य विरामीहरूको उपचार गर्ने अस्पतालको क्षमता कम भइरहेको जनाएको छ।

अस्पतालहरूले विरामीहरू फर्काइरहनु परेको अवस्था छ।

त्यसैगरी चिकित्सकहरूले कोरोना उपचारका लागि आवश्यक सुरक्षात्मक पोसाक तथा उपकरण लगायतका चीजहरू नभएको र जापान कोरोनाविरुद्ध लड्न तयारी अवस्थामा नरहेको जानकारी दिएका छन्।

अधिकारीहरुले जिपी सर्जरीका डाक्टरहरूको समूहले कोरोनाले दिएको दबाब कम गर्न त्यहाँका अस्पतालहरूलाई सघाइरहेको बताएका छन्।

‘यो चिकित्सा प्रणालीलाई बिग्रनबाट रोक्नको लागि हो’, जिपी समूहका उप-प्रमुख कोनोशीन तामुराले रोयटर्ससँग भने, ‘सबै जनाले सहयोगको हात बढाउनुपर्छ। अन्यथा अस्पतालहरू टुट्नेछन्।

जापानको सरकारले पछिल्लो समय ‘ड्राइभ थ्रु’ गरेर परीक्षणदर बढाउन काम गरिरहेको छ। तर गएका बितेका हप्ताहरूमा जापानले अन्य देशहरूको तुलनामा निकै कम परीक्षण गरेको हुँदा विज्ञहरूले संक्रमणलाई पछ्याउन कठिन भइरहेको बताएका छन्।

सुरुका दिनहरुमा कोरोना भाइरस जापानको नियन्त्रणमा रहेको देखिएको थियो। शनिबारसम्म जापानमा १० हजार जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

हालसम्म २०० जनाको ज्यान गएको जापानमा संक्रमणबाट राजधानी टोकियो सबैभन्दा बढी प्रभावित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?