टोकियो ओलम्पिकमा नेपाली खेलाडीलाई जापानको तामुरा सहरले सहयोग गर्ने

काठमाडौं । जापानमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदमा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीकातर्फबाट उपमेयर कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

२०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्रि गेम्स ट्रेनिङ क्याम्पसमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

तीन बर्षे सम्झौतामा नेपालका खेलाडीलाई एक्पोजर दिनेदेखि उनीहरुको प्रशिक्षणमा सो शहरले सहयोग गर्ने छ । वार्षिक करिव एक करोडको लागतमा खर्च गर्न सम्झौतामा उल्लेख छ । एथलेट सोसाइटी, जापानको गैर सरकारी संस्थाको सक्रियतामा खेलाडीको स्तरबृद्धिको कार्यक्रम संचालन हुने ।

शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रमा तामुरा सिटीका उपमेयरको नेतृत्वमा पाँच सदस्यीय जापानीज टोलीको सहभागिता रहेको थियो ।

बिहिबार काठमाडौं आइपुगेका उनीहरु तीन दिनसम्म नेपालमा बस्ने छ । एथलेट सोसाइटीकी युरिका नाकामुराले शनिबार एक इन्डोर तथा आउटडोर स्पोर्ट्स वर्कशप गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?