करोड उठाउने लक्ष्यसहित च्यारिटी गर्दै अन्तर्राष्ट्रिय पर्वत समाज

लन्डन । अन्तर्राष्ट्रिय पर्वत समाजले बेलायतमा च्यारिटीको एउटा महत्वाकांक्षी योजना बनाएको छ ।

समाजले आगामी जुन ३ तारिख साँझ एक करोड रुपैयां संकलन गर्ने महत्वकांक्षासहित अल्डरसटमा एक च्यारिटी गर्ने भएको हो ।

अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त च्यारिटी पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानीका लागि सहयोग जुटाउन केन्द्रित हुने समाजका पदाधिकारीले जनाएका छन् ।

यो पर्वतेहरुको कुम्भ मेला भएपनि यसमा गैर पर्वतेहरु पनि सहभागी हुने आयोजकको भनाइ छ ।

प्रसुति गृह वा अन्य स्वास्थ्य सेवासंग सम्वन्धित क्षेत्रमा लगानीका लागि आर्थिक सहयोग जुटाउन विशेष च्यारिटी गर्न लागिएको समाजले जनाएको छ ।

अध्यक्ष गिरीले आफ्नो जिल्लाको प्रोजेक्टलाई सहयोग गर्न विश्वभरका पर्वतेहरुलाई आव्हान गरेका छन् ।

उक्त च्यारिटीमा बेलायतबाहेक बेल्जियम, नेदरल्याण्ड, स्वीडेन, डेनमार्क, अमेरिका, युएइ, जापान आदि देशमा रहेका पर्वतेहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रम संयोजक हितकाजी गुरुङले च्यारिटीको तयारी तीव्र भइरहेको जनाउंदै आफ्नो उक्त प्रोजेक्टका लागि अमेरिका बस्ने एकै व्यक्तिले ३० लाख प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाए ।

‘विदेशमा रहेका पर्वतेहरुको कुम्भ मेला पनि हो यो’- संयोजक गुरुङले भने, ‘कार्यक्रम मनोरन्जनसहित प्रभावकारी र उपलब्धिमुलक बनाउने हाम्रो तयारी छ । हामी बेलायतस्थित पर्वतवासी र गैर पर्वतका नेपालीलाई पनि पूण्य काममा सघाउन अपिल गर्छौं ।’

पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले यूके ‘होस्ट कन्ट्री’ भएकाले ३ जुनको च्यारिटीलाई आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?