गृहमन्त्री राम बहादुर थापा ‘बादल’द्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन

काठमाडौं । माननीय गृहमन्त्री राम बहादुर थापा ‘बादल’ज्यूले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजीटल फरेन्सिक ल्याव र पोलीग्राफ सेक्सनको निरीक्षण समेत गर्नुभयो । उहाँले कमाण्ड सेन्टरमा भिडियो कन्फेरेन्सबाट प्रदेश प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरु समाधान गरिने बताउनुभयो ।

उक्त अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकको बिकास र समृद्धिका लागि अपराध अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने हुनाले प्रहरीले नयाँ कार्यशैलीकासाथ काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधनस्रोतको अभाव लगायतका समस्या रहेको चर्चा गर्दै गृहमन्त्री थापाले प्रहरीमा नयाँ ऐनको व्यवस्था, भौतिक साधनस्रोत सम्पन्न बनाउनेतर्फ ठोस योजना सहित मन्त्रालयले काम गर्ने बताउनुभयो ।नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि नयाँ योजना र नयाँ संरचनाको बिकासकासाथ अगाडि बढनुपर्ने बताउनुभयो । इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यक रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।


समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशन सम्बोधन नेपाल प्रहरीका लागि आगामी दिनमा गन्तव्य पहिल्याउन रोडम्यापको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो र अनुभवरहित रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । राज्य प्रणालीमा हुने परिवर्तनसँगै प्रहरी कर्मचारीहरूको संख्या र मौजुदा साधनस्रोतमा पुनरावलोकन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

संघ र प्रदेशका प्रहरी कार्यक्षेत्र स्पष्ट र सरल विभाजनको लागि संघीय प्रहरी ऐन यथाशीघ्र जारी हुनु आवश्यक रहेको बताउदै प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको व्यावसायिकता अभिवृद्धि र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालयको उल्लेख्य भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

पदीय मर्यादा, व्यक्तिगत अनुशासन र सांगठनिक भाइचारा जस्ता संस्थागत हितका बिषयलाई प्रहरी कर्मचारीहरुले ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले यसबाट बिषयान्तरण भएका कतिपय प्रहरी अधिकृतहरु कारबाहीको दायरामा रहेको उल्लेख गर्नुभयो । संगठनबाट आर्जेको प्रतिष्ठा, जीविकोपार्जन र पेशागत पहिचानको बदलामा संगठनलाई पुर्‍याएको योगदानको तुलनातर्फ सदैव गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री थापासमक्ष प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको बिकासक्रम, वर्तमान अवस्था, चुनौति, आवश्यकता र अपेक्षा सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यसअघि गृहमन्त्री थापा र गृहसचिव सापकोटालाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?