जापान सरकारद्वारा गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण

काठमाडौं । जापान सरकारको सहयोगमा निर्मित गणेशमान सिंह कम्युनिटी सेन्टर शुक्रबार गणेशमान सिंह फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ ।

जापान सरकारको ८१ लाख रूपैयाँ लागतमा काठमाडौँको तिनकुनेमा निर्माण भएको उक्त सेन्टरको आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहलाई हस्तान्तरण गरेका हुन् ।

फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका नेता सिंहले नेपाल–जापानको छ दशक लामो मैत्रीसम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउन जापान सरकारले सेन्टर निर्माण गरी राम्रो काम गरेको बताए । उनले स्थानीय बासिन्दाको आवश्यकताअनुसार कम्युनिटी सेन्टरको निर्माण भएको उल्लेख गरे ।

नेता सिंहले जनआन्दोलनका कमाण्डरका नाममा स्थापना भएको कम्युनिटी सेन्टरले स्थानीय जनतालाई परेका समस्या समाधान र विभिन्न कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।

जापानी राजदूत ओगावाले गणेशमान सिंहको नाममा आफूले कम्युनिटी सेन्टर निर्माण गरेर फाउण्डेशनलाई हस्तान्तरण गर्न पाएकामा ज्यादै खुशी लागेको बताए ।

उक्त सेन्टरमा सेमिनार, गोष्ठी, बैठक, खेललगायतका कार्यक्रम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?