दोस्रो इनिङमा १३० मै समेटियो दक्षिण अफ्रिका, भारतले पायो २०८ रनको लक्ष्य

२४ पुस, काठमाडौं । तीन टेष्ट शृङखलाका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले पहिलो टेष्टमा २०८ रनको विजय लक्ष्य पाएको छ ।

वर्षाले प्रभावित दोस्रो इनिङमा दक्षिण अफ्रिका १३० रनमै समेटिएपछि भारतले २०८ रनको लक्ष्य पाएको हो । ६५/२ को स्थितिबाट चौथो दिनको खेल सुरु गरेको दक्षिण अफि्रकाले २१.२ ओभरमा आफ्ना ८ महत्वपूर्ण विकेट गुमायो ।

दक्षिण अफि्रकाका लागि एबीडी भिल्लियर्सले ३५ तथा एइदिम मारक्रमले ३४ रन बनाए । दक्षिण अफ्रिकाको इनिङ ध्वस्त पार्ने क्रममा पाहुना टोलीका बलरहरु मोहम्मद सामी र जरप्रित बुम्राहले ३/३ तथा भुवनेश्वर कुमार र हार्दिक पण्ड्याले दुई दुई विकेट लिए ।

पहिलो टेष्टको तेस्रो दिन वर्षाका कारण एक बल पनि खेल भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङमा २८६ रन बनाएको थियो । पहिलो इनिङमा भारतले २०९ रन बनाएको थियो ।

तीन टेष्ट, छ एकदिवशीय र तीन ट्वान्टी ट्वान्टी सिरिजका लागि भारतीय टोली अहिले दक्षिण अफ्रिका भ्रमणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?