छाउगोठमा मृत भेटिइन् युवती

२४ पुस, अछाम । अछामको तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ ।

आइतबार साँझ खाना खाएर सुतेकी २२ वर्षीया गौरी बुढा सोमबार विहान ढिलासम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएकी वडा अध्यक्ष पदमबहादुर बुढाले जानकारी दिए ।

घरभन्दा केही टाढा रहेका छाउपडी गोठमा युवतीको मृत्यु भएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेका अनुसार महिनावारी भएको चौथो दिन राती मृत्यु भएको र थप विवरण आउन बाँकी छ ।

मृतक युवतीको २ बर्षअघि विवाह भएको र कुनै सन्तान नभएको अध्यक्ष बुढाले जानकारी दिए । उनका पति नेपाल प्रहरीमा कार्यरत छन् ।

अछााममा अघिल्लो बर्ष मंसिर र माघ पहिलो सातामा एक किशोरी र एक महिलाको छाउगोठमै ज्यान गएको थियो । सन् २००७ देखि अहिलेसम्म अछाममा छाउगोठमा ११ जना महिला तथा किशोरीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?