आज साँझ मेसी भर्सेस रोनाल्डो महाभिडन्त

स्पेनी फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धालाई फुटबलमा हार—जितको खेलको रुपमा मात्र लिइदैन ।
‘एल क्लासिको’ले धेरै अर्थ बोक्ने गर्छ । क्रिस्टियानो रोनाल्डो सन् २००९ मा म्याड्रिड पुगेयता लियोनल मेसीविरुद्ध रोनाल्डोको खेल पनि बनेको छ, एल क्लासिको ।

विश्व फुटबलमा एक दशकयताका सबभन्दा ठूला स्टार नै पोर्चुगिज रोनाल्डो र अर्जेन्टिनी मेसी हुन् । यी दुईमध्ये नम्बर १ खेलाडीको नाम लिनुपऱ्यो भने धेरैसँग स्पष्ट जवाफ हुदैन । रियल र बार्सिलोनाका यी दुई सुपरस्टारले समग्रमा स्पेनी ला लिगा १० पल्ट, युरोपेली च्याम्पियन्स लिग सातपल्ट, बेलन डि’अर (विश्वको सर्बोत्कृष्ट खेलाडीको अवार्ड) १० पल्ट जितेका छन् । त्यसक्रममा उनीहरूले एकपछि अर्को गर्दै लगभग सबै पुराना कीर्तिमान तोडेका छन् । त्यसैले पनि एल क्लासिको रोनाल्डोविरुद्ध मेसीको खेल बन्यो ।
पछिल्लो वर्ष रियलले ला लिगा, च्याम्पियन्स लिग, युईएफए सुपरकप, स्पेनी सुपरकप र क्लब विश्वकप गरी ५ उपाधि जित्यो । बार्सा भने कोपा डेल रेको ट्रफिमै सीमित रह्यो । तर यो सिजन (सन् २०१७—१८) बार्सा फेरि उत्कृष्ट लयमा फर्कियो । रियल भने खस्कियो । ला लिगामा बार्साले ११ अंकको अग्रता लिएको छ । आजको एल क्लासिको बार्सासँग दूरी घटाउने अवसर पनि हो रियललाई । र, रोनाल्डोका निम्ति मेसीविरुद्धको प्रतिस्पर्धालाई अझ चर्को बनाउने मौका ।

रियलको घरेलु मैदान बर्नाबाउमा खेल हुने भएकोले पनि सट्टेबाजीमा रोनाल्डोले गोल गर्ने संभावना उच्च देखाइएको छ । त्यसपछि मेसी र बार्सामा उसका सहकर्मी लुइस स्वारेज छन् । एल क्लासिकोका सर्बाधिक गोलकर्ता मेसी (२४) हुन्, तेस्रोमा रोनाल्डो (१७) छन् ।
रोमाञ्चक तथ्य: रोनाल्डो र मेसीले सन् २०१७ मा ५३—५३ गोल गरेका छन् । क्यालेन्डर वर्षको होडमा एकअर्कालाई उछिन्ने अवसर पनि हो एल क्लासिको । लिगमा मेसी (१४ गोल) सर्बाधिक गोलकर्ता हुन् । उनले यो सिजन १८ गोल गरेका छन् । पछिल्ला चारै खेलमा गोल गरेका रोनाल्डो बल्ल लयमा देखिएका छन् । लिगमा ४ गोलमात्र गरेपनि उनले यो सिजन गोल संख्या १६ पुर्‍याइसकेका छन् ।

रोनाल्डोले हालै पाँचौंपल्ट बेलन डि’अर अवार्ड जित्दै मेसीको कीर्तिमान बराबरी गरे । उनको चाहना सातपल्ट अवार्ड जित्ने हो । तर सजिलो छैन । ३२ वर्षीय उनको गोल मेसिन खिया लाग्न थालेको छ । हुन त ३० वर्षीय मेसीको पनि गोलको औसत घटेको छ । क्लब फुटबलमा मेसीले प्रतिखेल ०.८६ र रोनाल्डोले ०.७४ को औसतमा गोल गरेका छन् ।
ला लिगामा मेसी ४ र रोनाल्डो ३ सिजन सर्बाधिक गोलकर्ता भए । मेसी क्याटलन क्लब र रोनाल्डो रियलका कीर्तिमानी गोलकर्ता पनि हुन् । युरोपेली च्याम्पियन्स लिगमा रोनाल्डो (११४) को कीर्तिमान छ । उनलाई मेसी (९७) ले पछ्याइरहेका छन् । ला लिगामा मेसी (३६२ गोल) लाई रोनाल्डो (२८९) पछ्याइरहेका छन् । बार्साको ला मसिया एकेडेमीमा हुर्किएका मेसीले सन् २००४ देखि ला लिगा खेलिरहेका छन् ।

पोर्चुगलको स्पोर्टिङपछि इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड हुदै रोनाल्डो २००९ मा म्याड्रिड पुगेका थिए ।

ला लिगाको ह्याट्रिक होडमा रोनाल्डो ३२—२८ ले अगाडि छन् तर उनले बार्साविरुद्ध एकै खेलमा ३ गोल गर्न सकेका छैनन् । मेसीले भने एल क्लासिकोमा दुईपल्ट ह्याट्रिक गरिसकेका छन् । यी दुईवीच क्लब फुटबलको उपाधि होडमा मेसी ३०—२६ ले अगाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?